
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष जाने बताएका छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको समुद्घाटन गर्दै प्रधानमन्त्रीले गठबन्धनको एकता धेरै बलियो भएको बताएका हुन् ।
‘यो गठबन्धन पाँचै वर्ष जान्छ । कसैले हल्लाएर हल्लिँदैन’ प्रधानमन्त्रीले भने, ‘मान्छेले हल्ला गरेजस्तो गठबन्धन कमजोर छैन । गठबन्धनभित्रको युनिटी धेरै बलियो छ ।’
आफूलाई एक महिना पनि जाँदैन भन्नेहरू रहेको भन्दै उनले राम्रो काम गर्दा ११ महिनासम्म सहजै आएको बताए ।
‘राम्रो गर्ने हो राम्रो गर्दा गर्दा छोड्नुपरे जनताको घरदैलोमा जाने हो । मैले प्रधानमन्त्री बन्दा पनि यही भनेको थिएँ । भारतमा अटल बिहारी बाजपेयी सबैभन्दा कम १३ दिन प्रधानमन्त्री भएका रहेछन् । कोही कोही १५ दिन पनि भएका छन् । साथीहरूले एक महिना भन्दा धेर जाँदैन भन्थे । तर मैले एक महिना भए पनि राम्रो काम गर्छु भनेको थिए । गर्दै गइयो ११ महिना भइसक्यो अझै बाँचिएकै छ । अझै सुशासनको पक्षमा काम गर्छु ।’
प्रहरी समायोजन ऐन, निजामती ऐन, शिक्षा ऐनलाई कार्यान्वयन गराएपछि मात्रै संघीयताको खास अभ्यास हुने उनले बताए । 'प्रहरी समायोजन ऐन, निजामती ऐन, शिक्षा ऐनलाई कार्यान्वयन गराएपछि संघीयताको वास्तविक अभ्यास देखिन्छ । यी तीन वटै ऐन मध्ये प्रहरी ऐन बनिसकेको छ । यसको कार्यान्वयनमात्रै बाँकी । केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयन आउँछ । अब प्रदेशसँग लाठी हुनेछ । लाठी नभई सरकार हुँदैन । दोस्रो निजामती ऐन, संसद्बाट पारित हुन्छ । शिक्षा ऐन पनि पारितको चरणमा छ’ उनले भने ।
गणतन्त्र र परिवर्तन विरोधीले संघीयता काम छैन भनेर प्रचार गरेको भन्दै अब संविधानले परिकल्पना गरेको अधिकार सबै दिलाउने पक्षमा आफू रहेको उनले बताए । ‘एकथरी मान्छेहरू हिजै गणतन्त्र विरोधी थिए । आदिवासी, महिला, थारू मधेसीलाई अधिकार दिनेमा विरोधमा थिए । ती मान्छेले अड्काउने र रोक्ने काम गरिरहेका छन् । अनि संघीयता काम छैन भन्ने पनि तिनै हुन्’ प्रचण्डले भने, ‘संविधानले परिकल्पना गरेका अधिकार दिएपछि मात्रै प्रश्न उठाउने ठाउँ हुन्छ । अधिकार नदिई संघीयतामाथि प्रश्न उठाउनु सह्य होइन ।’
हिजोका सामन्तीले संस्कारको कुरा गरेको भन्दै उनले परिवर्तनको पक्षमा सबै दल एक ठाउँमा उभिने पनि बताए । 'हिजोका सामन्ती राजाको स्तुति गान गाउने, भण्डारखाल, कोतपर्व त कहिले नारायणहिटी काण्ड देखेको होइन । आज तिनै मान्छे संस्कारको कुरा गर्छन् । लोकतन्त्रवादी र परिवर्तनगार्मीलाई संस्कारको कुरा गर्ने ? लोकतान्त्रिक प्रणालीविरुद्ध धावा बोल्ने ? हिलो छ्याप्ने र बोल्ने काम गरे सह्य हुँदैन,’ प्रचण्डले भने, ‘यसैले परिवर्तनका पक्षधर दललाई सिंहदरबार बोलाएर छाडा तन्त्रलाई टुलुटुलु हरेर बस्ने कि लड्ने भन्दा सबै दलका नेताले एक स्वरमा लोकतन्त्र, गणतन्त्र, संघीयताको निम्ति सडकमा जान्छौं भन्नुभयो । अरूले त भने भने प्रमुख प्रतिपक्षी दलका नेता पनि सडकमा जान्छु भन्नुभयो ।’
सुशासनमा सरकारले चालेको कदमलाई सबैले तारिफ गर्नुपर्ने पनि उनले बताए । ‘अलिकति राजनीतिक ज्ञान र विवेक हुनेले अहिलेको सरकारलाई तारिफ गर्नुपर्ने हो किनकि सुशासनको लागि अहिले जत्तिको काम कहिले भएको छ ? भ्रष्टाचार, भू माफिया तस्करविरुद्ध अभियान शुरू भएको छ । यो स्तरको अभियान यस अघि कहिल्यै भएको थियो ?’ उनले प्रश्न गरे ।
आफू चीन, भारत र अमेरिका गएपछि भएको सहमति र सम्बन्धबाट देशले गर्व गर्न सक्ने आधार प्रस्तुत गरेको पनि उनले बताए । अर्थतन्त्रमा दबाब र संकट भए पनि आफू प्रधानमन्त्री हुँदाको जस्तो आतंक नभएको उनले बताए ।