
चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा शनिबार बिहान पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ११३ रन बनाएको हो।
नेपालका लागि काजल श्रेष्ठले नटआउट १५ रन बनाइन् । त्यसअघि रूबिना क्षेत्रीले ३८ रन बनाइन् । त्यस्तै कप्तान इन्दु बर्माले २७ रन जोडिन् । ओपनर पूजा महतोले १३ रन बनाउँदा सीता रानामगरले ९ रनको योगदान गरिन् ।
बलिङतर्फ जापानकी एलिना कुसुदा क्विनले २ विकेट तथा मेग ओगावा र अयुमी फुजिकावाले एक एक विकेट लिए।
नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो ।
महिला टी–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।
आइसीसी वरीयतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् । तान्जानिया र हङकङले उपाधि जित्न खेल्ने छन् ।