
नेकपा एमाले निकट युवा संघले राजधानीको माइतीघरमा मंसिर ७ गतेका लागि तोकेको प्रदर्शन तीनकुनेमा हुने भएको छ । स्थानीय प्रशासनले माइतीघरसहितका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि युवासंघले सो दिन तीनकुनेमा प्रदर्शन गर्ने जानकारी दिएको हो ।
‘राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको आयोजनामा मिति २०८० मंसिर ७ गते माइतीघर मण्डलामा युवा विद्यार्थी विशेष कार्यकम आयोजना गरिएको विषय सर्वविदितै छ । तर, नेपाल सरकारले माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा (सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म) गर्ने निर्णय गरेकाले हाम्रो निर्धारित कार्यकम सोही मिति र समय (बिहान ११ः०० बजे) मा काठमाडौँस्थित तिनकुनेमा हुने व्यहोरा जानकारी गराउँदछौं’, युवा संघका अध्यक्ष क्षितिज थेबेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सोही दिन दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि राजधानीमा प्रदर्शन गर्ने भएपनि सरकारले पद्मोदय मोडदेखि माइतीघर हुँदै बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको हो।