
सोल– दक्षिण कोरियाका फुटबल प्रशिक्षक जोर्गन क्लिन्सम्यानले विश्वकप फूटबल प्रतियोगिता खेलेका मिडफिल्डर सन जुन–होलाई क्रिसमसको समयमा रिहा गर्न चीन सरकारसँग आग्रह गरेका छन् ।
बेइजिङको विदेश मन्त्रालयले कुनै विवरण उल्लेख नगरी ३१ वर्षीय सनलाई ‘गैरराज्य कर्मचारीहरूबाट घुस लिएको आशङ्कामा’ हिरासतमा लिइएको गत मे महिनामा बताएको थियो । दक्षिण कोरियाली मिडियाले सनलाई उत्तरपूर्वी प्रान्त लियोओनिङमा राखिएको तर त्यसपछि उनको अवस्थाबारे कुनै समाचार नआएको बताएको छ ।
सन् २०२१ देखि चिनियाँ सुपर लिग क्लब सेन्डोङ ताइसानसँग आबद्ध सनले सन् २०२२ मा कतारमा भएको विश्वकप प्रतियोगितामा आफ्नो मुलुकबाट चारमध्ये तीन खेलमा सहभागिता जनाएका थिए ।
‘अब हामीसँग क्रिसमसका लागि एउटै इच्छा छ सन जुन–होलाई रिहा गराउनु किनकीसनले गलत गरेको भनेर आजसम्म उनीहरूले केही पनि प्रमाणित गरेका छैनन्,’ चीनमा मङ्गलवार भएको विश्वकप छनोट प्रतियोगितामा ३–० ले विजयी भएर दक्षिण कोरियामा ओर्लिएपछि जर्मनीका पूर्वखेलाडी क्लिन्सम्यानले पत्रकारहरूसँग भने, ‘त्यसैले हामीलाई आशा छ चीन सरकारले क्रिसमसभन्दा पहिला नै आफ्नो परिवारसँग भेट्न उनलाई रिहा गर्नेछ ।’
क्लिन्सम्यानले हिरासतमा रहेका भए पनि जुनमा दुई वटा मैत्रीपूर्ण खेलका लागि सनलाई आफ्नो टिममा समावेश गरेका थिए । कोरिया फूटबल एसोसिएसनले त्यो बेला सनको रिहाइका लागि अधिकारीहरूलाई चीन पठाएको तर खेलाडीका वकिल उनीहरूसँग कुराकानी गर्न ‘अनिच्छुक’ रहेको बताएको थियो ।