
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रतिगमनको षड्यन्त्र भए अर्को जनयुद्ध हुने चेतावनी दिएका छन् ।
१० औं पार्टी पुनर्गठन दिवसको अवसरमा शुक्रवार रोल्पाको थवाङमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै विप्लवले राजतन्त्रसहितका कतिपय षड्यन्त्रकारी शक्तिहरूले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने चेतावनी दिएका हुन् ।
महासचिव विप्लवले चुनबाङ बैठकको मर्म वर्तमान प्रधानमन्त्रीसमेत रहेका जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूले नबुझेको समेत आरोप लगाए ।
‘चुनबाङ बैठकपछि काठमाडांै उत्रेका हौं । तर परिस्थिति उल्टो बन्यो । कतिपय नेताहरू धन कमाउने र सम्पत्ति जोड्ने होडमा लागे । जनतालाई घात गरियो,’ उनले भने ।
विप्लवले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेकोसमेत स्मरण गराए ।
विप्लवले जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता काठमाडौंमा पनि स्थापित गर्ने उदेश्यसहित अगाडि बढ्दा कतिपय नेताको बदमासीले जनयुद्धको उपलब्धि गुमेको तर्क थियोे ।
‘इमान्दार माओवादीहरूले जनता, सहिद र घाइते बिर्सनु हुँदैन भन्ने हाम्रो जोड थियोे,’ उनले भने, ‘तर कतिपयले मन्त्री, सांसद र सम्पत्ति थुपारेपछि जनता भुले ।’
सो अवसरमा विप्लवले आफूहरू अझै जिउँदै छौँ भनेर जनयुद्धको केन्द्र रोल्पा आएको बताए ।
‘हामी ज्युँदै छौं भन्न रोल्पा आएका हौँ । कतिपयले माओवादी जनयुद्धलाई अपराधीकरण गराउने खोजेका छन् । हामी यसको कडा प्रतिवाद गर्छौँ,’ चेतावनी दिँदै उनले भने ।
पछिल्लो समय देशमा केही लुटेरा सल्बलाएको विप्लवको भनाइ थियो ।
‘यो एकैछिनको नाटक हो । यो षड्यन्त्रको जमेर प्रतिबाद गरिन्छ,’ उनले थपे,’ जनयुद्धको रक्षा गर्ने पार्टी ज्युँदैछ । षड्यन्त्रका सपना नदेखे हुन्छ ।’
माओवादी घटकको एकतातिर लक्षित गर्दै विप्लवले मन्त्री र सांसद पदका लागि मात्रै पार्टी एकता नहुने स्पष्ट पारे ।
पछिल्लो समय काठमाडौंमा दुर्गा प्रसाईंको नेतृत्वमा गणतन्त्रविरुद्ध प्रदर्शन चर्किरहेको छ । विप्लवको चेतावनी यसैप्रति लक्षित देखिन्छ ।