०५ साउन २०८३, मंगलबार

जलवायु परिवर्तनले हिमालयमा परेको असरबारे राष्ट्रिय सरोकार समितिले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

मंसिर १०, २०८०
काठमाडौं
जलवायु परिवर्तनले हिमालयमा परेको असरबारे राष्ट्रिय सरोकार समितिले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रको वातावरण र त्यसमा निर्भर समुदायलाई गम्भीर असर परिरहेकोतर्फ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को ध्यानाकर्षण गराएको छ ।

समितिको शुक्रवार (मंसिर ८ गते) बसेको बैठकले हिमालय क्षेत्रको पर्यावरणीय सन्तुलनका लागि राष्ट्रियस्तरमा पहलकदमी लिन र अन्तर्राष्ट्रिय समुदायको भूमिकाका लागि समेत प्रभावकारी पहल गर्न प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

'COP 28 Climate Conference' मा सहभागिता जनाउने क्रममा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन आग्रहसहित समितिको निर्णय प्रधानमन्त्रीसमक्ष पठाइएको समितिले जनाएको छ ।

समितिले यही मंसिर ३ देखि ७ गतेसम्म सगरमाथा राष्ट्रिय निकुञ्जको स्थलगत अवलोकन तथा अन्तरक्रिया गरेको थियो । त्यक्रममा समितिले जलवायु परिवर्तनका असरसम्बन्धी विषयमा स्थलगत अध्ययन तथा अवलोकन समेत गरेको थियो ।

ध्यानाकर्षण पत्रमा हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण सिर्जित समस्यालाई ४ वटा बुँदामा उल्लेख गरिएको छ । पर्याप्त हिउँ नै नपर्ने, परेको हिउँ तत्काल पग्लिने तथा बालीनाली समेत प्रभावित हुने अवस्था रहेको ध्यानाकर्षण पत्रमा जनाइएको छ ।

यस्ता छन्, बुँदाहरू :

– हिमालमा हिउँ नपर्ने तथा कम पर्ने र परेको हिउँ पनि तीव्र रूपमा पग्लने एवं हिमनदीहरू समेत तीव्र रूपमा पग्लने अवस्था पाइएको छ। हजारौं हिमनदीहरूको घर मानिने हिमाली क्षेत्रमा बढ्दो तापक्रमका कारण तीव्र रूपमा हिउँ पग्लदै जाँदा भविष्यमा तल्लो भूभागमा पानीको उपलब्धता नहुने खतरा देखिएको छ । समग्र वातावरण असन्तुलन हुने खतरा पनि त्यत्तिकै छ । हिमालहरू लाखौं मानिसहरूलाई बचाउने नदीहरूका पनि स्रोत मानिन्छन् । वातावरण सन्तुलनका प्रमुख आधार मानिन्छन् । हिमालको हिउँ तथा हिमनदीको पग्लाइसँगै कतिपय हिमालहरू कालापत्थरमा परिणत हुँदै गएका, कतिपय नदीहरू क्रमशः सुक्दै गएका तथा कतिपय नदीमा पानीको मात्रा विगतको तुलनामा ज्यादै न्यून हुँदै गएको अवस्थाले एकातिर हिमालय रेन्जको समग्र जीवनपद्धतिमा नै खतराको अवस्था ल्याएको पाइएको छ भने अर्कातिर हिमालमा हिउँ नहुँदा प्राकृतिक सौन्दर्यता गुम्ने, हिमालको देश भनेर अन्तर्राष्ट्रिय जगतमा पाएको पहिचान गुम्ने तथा उच्च हिमाली भूभागका बासिन्दाको प्रमुख पेसा पर्वतारोहण समेत खतरामा पर्ने गम्भीर चुनौती अर्कोतिर छ । यसका साथै हिमाल पग्लने क्रमले समुन्द्री सतह बढ्दै जाँदा तल्लो तटीय क्षेत्र एवं समुन्द्र आसपासका बस्ती एवं देशहरूको समेत अस्तित्व मेटिने खतरा पनि रहेको छ ।

– जलवायु परिवर्तनले हिमालय क्षेत्रमा वर्षाको ढाँचामा नै परिवर्तन भइरहेको छ, जसले गर्दा वर्षा र हिमपातको समय एवं यसको तीव्रतामा पनि परिवर्तन आएको देखिन्छ । अनियन्त्रित वर्षा हुने,  कतै वर्षा नै नहुने जस्ता समस्याले खेतीपातीमा असर त गरेकै छ नै, हिमताल फुट्ने,  अनियन्त्रित वर्षा हुने गरेकाले हिमालय क्षेत्रमा ठूला–ठूला पहिरो जाने र तल्लो भूभागमा बाढी आउने गर्नाले खोलानाला आसपासका बासिन्दाले गर्ने खेतीपाती जोखिममा पर्नुका अनेकौं विपद्को सामना गर्नुपरेको छ साथै यस्ता प्रकोपका कारण मानवीय क्षति समेत हुने गरेकाले जलवायु परिवर्तनले मानव र इकोसिस्टम दुवैलाई गम्भीर रूपमा असर गरेको पाइन्छ ।

– तापक्रम वृद्धिले कृषि तथा वनस्पति क्षेत्रहरूमा पनि परिवर्तन ल्याइरहेको छ । मौसम अनुरूप हुनुपर्ने वनस्पति नहुने, वनस्पतिहरू ढिला फुल्ने, फल नलाग्ने, फल लागे पनि किरा पर्ने, कुहिने तथा विगतमा हुने फलफूल तथा बालीनालीहरू नहुने जस्ता समस्या देखा पर्न थालेका छन् । यसले कृषि प्रणालीमा गम्भीर असर गरेको त छ नै यसले हिमालयमा वनस्पति र प्रजातिहरूको बसोवासलाई समेत असर गरिरहेको छ । जंगली जनावरहरूले खाने गरेका कैयन् वनस्पति समेत आजकाल उपलब्ध नहुने कारण विगतमा हिमाली क्षेत्रमा पाइने केही प्रजातिहरूका जीवजन्तु तथा वनस्पतीहरू एकातिर लोप भैसकेका छन् भने भने अर्कातिर जीवनजन्तुहरू वस्ती तथा बालीनालीतिर आकर्षित हुनाले खेतीपातीको विनाश एवं मानव जीवनमा क्षति हुने गरेको तथा जीवजन्तुका जीवनशैलीमा हुने परिवर्तनले मानव समुदायमाथि खतरा उत्पन्न हुने गरेको पाइएको छ । यसका साथै भविष्यमा समेत बाँकी प्रजातिहरू पनि लोप हुने खतरा देखिएको छ । यसले मानव समुदायमाथि नै गम्भीर चुनौती सिर्जना गरेको पाइएको छ ।

– हिमालयका धेरै समुदायहरू आफ्नो जीविकोपार्जनका लागि पर्वतारोहण, कृषि र प्राकृतिक स्रोतहरूमा निर्भर छन् । जलवायु परिवर्तनको असरका कारण पूर्वानुमान नै गर्न नसकिने किसिमका प्राकृतिक प्रकोपहरूको सिर्जना हुने गरेकाले माथिल्लो भेगका बासिन्दाको प्रमुख पेशा पर्वतारोहणमा नै चुनौती सिर्जना हुन थालेको पाइएको छ । त्यसैगरी जलवायु परिवर्तनले बाली उत्पादन, सिँचाइका लागि पानीको उपलब्धता र परम्परागत जीविकोपार्जनको समग्र दिगोपनलाई असर गर्न थालेकाले विगतको परम्परागत जीवन निर्वाह प्रणालीमा गम्भीर चुनौती सिर्जना हुन थालेको  पाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्