
करिब एक महिनाअघि मात्र १२ जना नेपाली विद्यार्थी इजरायलमा मारिएको घटना स्मरण गराउँदै बुधबार पुनः रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु भएको खबर फैलियो ।
मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, गोरखाका सन्दीप थपलिया, इलामका गङ्गाराज मोक्तान र दोलखाका राजकुमार रोक्का भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । तीमध्ये थपलियाको ११ महिनाअघि नै र बाँकीको केही दिनअघि युक्रेनसँग भएको भिडन्तमा मारिएको बताइएको छ ।
सम्भवतः रुस–युक्रेन युद्धमा नेपाली मारिएको यो पहिलो औपचारिक जानकारी हो तर सम्बद्ध पक्षले तत्काल ध्यान नदिने हो भने यो सुरुवात मात्र हुने देखिन्छ र आगामी दिनमा यस्ता थुप्रै खबर आउने गोरखापत्रले आफ्नो खबरमा उल्लेख गरेको छ ।