०३ साउन २०८३, आइतबार

हिजो छुटेका यात्रुलाई वैकल्पिक उडानबाट गन्तव्यमा पुर्‍याउँदै छौं– निगम

मंसिर १४, २०८०
काठमाडौं
हिजो छुटेका यात्रुलाई वैकल्पिक उडानबाट गन्तव्यमा पुर्‍याउँदै छौं– निगम
फाइल तस्वीर

नेपाल वायु सेवा निगमले बुधवार (२९ नोभेम्बर)मा काठमाडौं– दुबईको उडानमा छुटेका यात्रुलाई आज बिहीबार वैकल्पिक उडानबाट गन्तव्यमा पुर्‍याइने जनाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका कारण नियमित उडान रिशेड्युल गरी राति साढे ९ बजे विमान उडेको थियो । निगमका प्रवक्ता रमेश पौडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी हिजो छुटेका यात्रुलाई आज गन्तव्यमा पुर्‍याउने व्यवस्था भएको जनाएका हुन् । 

‘यात्रुहरूको उपलब्ध इमेल, फोन नम्बर र ट्राभल एजेन्सीमार्फत शेड्युल परिवर्तन भएको जानकारी गराइएकोमा २७४ यात्रुमध्ये केही यात्रु उक्त उडानमा छुट हुन गएको पाइएकाले यसबाट यात्रु महानुभावमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आज उपलब्ध दैनिक उडानबाट सबै यात्रुलाई गन्तव्यमा पुर्‍याउने प्रबन्ध मिलाइएको जानकारी गराइन्छ,’ निगमको विज्ञप्तिमा भनिएको छ । 

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले यस्ता घटना फेरि दोहोरिन नदिन निगमको वाणिज्य विभाग प्रमुखलाई निर्देशन दिएको समेत विज्ञप्तिमार्फत जनाइएको छ ।

‘यस्ता घटना फेरि दोहोरिन नदिन र क्षति न्यूनीकरण गर्न के–के गरियो ? जिम्मेवारी निर्वाह भयो भएन भनी आन्तरिक रूपमा छानबिन गरेर सम्बन्धितलाई आवश्यक कारबाही गर्न निगमका अध्यक्ष युवराज अधिकारीले वाणिज्य विभाग प्रमुखलाई विशेष निर्देशन दिनुभएको छ,’ पौडेलले विज्ञप्तिमा भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्