
फ्रान्सलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै जर्मनीले जित्यो यू–१७ विश्वकप फूटबल प्रतियोगिताको उपाधि जितेको छ ।
इन्डोनेसियामा शनिवार भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले स्तब्ध बनाउँदै जर्मनी च्याम्पियन बनेको हो ।
निर्धारित समयमा दुवै टोलीबाट समान दुई गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
त्यसअघि सुराकार्तास्थित मानाहान स्टेडियममा भएको खेलको निर्धारित समयमा जर्मनीका पेरिस ब्रुनेर र नोआ डार्भिचले गोल गर्दा फ्रान्सका साइमन बोउब्रे र माथिस एमोउगोउले गोल फर्काए ।
२९ औं मिनेटमा ब्रुनेरले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई १–० को अग्रता दिलाए । ५१ औं मिनेटमा डार्भिचले टोलीको अग्रता दोब्बर बनाए ।
तर दुई मिनेटपछि फ्रान्सका बोउब्रेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ६९ औं मिनेटमा विनर्स ओसावीले दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडेपछि जर्मनी १० खेलाडीमा समेटियो ।
८५ औं मिनेटमा एमोउगोउले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीबाट कुनै गोल नभएपछि नतिजाका लागि पेनाल्टी सुटआउटको साहारा लिनुपरेको हो ।
प्रतियोगितामा अर्जेन्टिनालाई हराउँदै मालीले तेस्रो स्थान गरेको छ ।