
नेकपा (एमाले)को देशव्यापी अभियानका क्रममा सुर्खेतको गुर्भाकोट नगरपालिका १० का एक ९ वर्षीय बालकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एउटा चिर्कटो थमाएका थिए । आफूलाई थमाएको उक्त चिर्कटोको जवाफ ओलीले दिएका छन् ।
किशोर पौडेल नाम गरेका ती बालकले ओलीलाई हस्तलिखित चिर्कटो थमाएका थिए । जसमा लेखिएको थियो– सम्माननीय पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यू, म र मजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दासम्म पेट पाल्नका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गरिदिनुहुन अनुरोध गर्दछु ।
ती बालकले आफ्नो र आफूजस्तै बालकहरू युवा हुँदा देशमै गरिखाने वातावरण बनाइदिन गरेको आग्रहको जवाफ लेख्दै ओलीले आफूहरूले गरेका कामले यी बाबुको सपना पूरा हुँदै जाने आश्वासन दिएका छन् ।
‘हाम्रो यात्रा सुर्खेतबाट सल्यानहुँदै जाजरकोटतिर लाग्दै थियो । हिँड्ने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए । स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए । मैले सोचेँ हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सो क्षेत्रमा ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार र चिल्ला सडकहरू निर्माण पनि ती बालकहरूकै लागि गरेको बताएका छन् ।
‘ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौं । सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन् । यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ,’ उनले थपेका छन् ।