सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको दाबी गरेका छन् । रफत सञ्चार क्लबले बुधवार भक्तपरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।
प्रवक्ता सापकोटाले सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीबाट कोही दोषी देखिए कारबाही गर्न पछि हट्न नहुने धारणा राखे । उनले भने, ‘एनसेल बिक्री प्रकरणमा सरकार दोषी छैन, छानबिन कमिटीको प्रतिवेदनमा कोही दोषी देखाए दोषीलाई कारबाही हुनपर्छ ।’
प्रवक्ता सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्न खोजेको काममा सरोकारवालाले सहयोग नगर्दा समस्या आएको बताए ।
‘जनताको अपेक्षाअनुसारको विकास निर्माण र चाहना पूरा गर्न सिङ्गो मन्त्रिपरिषद् परिचालन हुन सकेन, प्रधानमन्त्रीले धेरै काम गर्न खोज्नु भयो, तर मन्त्रिमण्डलमा रहेका मन्त्रीहरूले उहाँलाई सहयोग गरिरहेका छैनन्, कर्मचारीले त झनै सरकारलाई सहयोग गरेका छैनन्, त्यसैले सरकारलाई काम गर्न समस्या परिरहेको छ,’ उनले भने ।
भूकम्पपीडितलाई राहत वितरण र उद्धारमा प्रधानमन्त्री एक्लैले धेरै प्रयास गरेको उल्लेख गर्दै उनले सम्बन्धित निकायले सहयोग नगर्दा राहत नपाएर मृत्यु भएका दुःखद घटना सुन्न परेको बताए ।
नेपाली सेनालाई राहत वितरणको जिम्मेवारी दिने सरकारको निर्णय राम्रो भएको जनाउँदै उनले सरकारले जनताको गुनासो र आलोचनालाई भने सम्बोधन गर्नुपर्ने बताए । उनले सत्ता गठबन्धनमा कुनै समस्या नभएको र पाँच वर्ष नै यो गठबन्धन रहने जिकिर गर्दै गठबन्धनले जनताको धैर्यता र निराशालाई टुट्न दिन नहुने उल्लेख गरे ।
सरकारले ललिता निवास प्रकरण, सुन तस्करी काण्ड, शरणार्थी प्रकरण जस्ता काण्डमा धेरै राम्रो काम गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको विदेश भ्रमणले सबै देशसँग कूटनीतिक सम्बन्धमा सन्तुलन कायम भएको बताए ।
पार्टीहरूमा आन्तरिक लोकतन्त्र कमजोर हुँदा देशको लोकतन्त्र पनि कमजोर हुन पुगेको भन्दै उनले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको चाहना पूरा गर्न सबै पार्टीले साझा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
जनताको आवाज बुलन्द गर्नुपर्ने संसद् अहिले अल्मलिएको टिप्पणी गर्दै उनले भने, ‘संसद् जीवन्त र जनमुखी बन्न सकेन, संसदभन्दा माथि कोही हुँदैन, लोकतन्त्र र जनताको आवाज घन्किनुपर्ने संसद्मा अल्मलिएको छ, विधेयकहरू पास हुन सकेका छैनन्, संसद्मा लोकतन्त्रको अभ्यास हुन जरुरी छ ।’