
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलले समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारको नाम हटाउने क्रम बढेको छ । निर्वाचन कानुनले बन्दसूचीमा नाम समावेश भएका व्यक्ति राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय निर्वाचनमा उम्मेदवार हुन बन्देज लगाएको छ ।
निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति घोषणा भएयता तीन वटा दलले बन्दसूचीबाट उम्मेदवारको नाम हटाउन आयोगलाई आग्रह गरेका हुन् ।
महाशाखाका प्रमुखसमेत रहनुभएका सहसचिव यज्ञप्रसाद भट्टराईले मङ्गलबार नेपाल समाजवादी पार्टीले उम्मेदवारको नाम हटाउन पत्राचार गरेको जानकारी दिए । सो दलले बन्दसूचीबाट एक जनाको नाम हटाउन आग्रह गरेको थियो ।
नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत बन्दसूचीबाट उम्मेदवारको नाम हटाउन पत्राचार गरेको छ । एकीकृत समाजवादीले प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा बुझाएको १०२ जनाकै नाम बन्दसूचीबाट हटाउन आग्रह गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत नपाउँदा एकीकृत समाजवादी राष्ट्रिय दल हुन सकेन । त्यसै गरी सो दलले सुदूरपश्चिम प्रदेशबाट समानुपातिकतर्फका दुई जना उम्मेदवारको नाम हटाउन आग्रह गरेको छ । गोरखापत्रमा खबर छ ।