
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधार गर्न कृषि उत्पादनलाई जोड दिने नीति सरकारले लिएको बताएका छन् ।
काभ्रेको पाँचखालमा बुधवार आयोजित महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
देशको अर्थतन्त्रको मूल आधारका रुपमा रहेको कृषि उत्पादनलाई जोड दिने नीति लिएको सरकारले लिएको उनको भनाइ छ । ‘देशको अर्थतन्त्रको मूल आधारका रुपमा रहेको कृषि उत्पादनका लागि जोड दिने सरकारले नीति लिएको छ, यस्ता औद्योगिक ग्राम स्थापनाले त्यसलाई टेवा पुग्नेछ’ उनले भने ।
युवा जनशक्ति अध्ययन वा रोजगारीका लागि विदेश जाने क्रम बढ्दा गाउँका खेतीयोग्य जमिन बाँझो हुँदै गएको उनले बताए ।
‘पाँचखालमा स्थापना गरिएको महिला उद्यमी हरित पार्कले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ, कृषिमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्ने जुन योजना अघि सारेको छ, यो नेपालकै लागि नमूना हुन सक्छ’ उनले भने, ‘सक्षम युवाहरूलाई गाउँमै काम गर्ने अवसर दिनेछ भन्ने ठानेको छु ।’
यस परियोजनाले हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने, व्यावसायिक उत्पादनहरूमा नवीन विचार, प्रविधि र सीपको विकास गर्न मद्दत पुग्ने प्रधानमन्त्रीको विश्वास छ ।