१० असार २०८३, बुधबार

विजयादशमीको अवसरमा राष्ट्रपतिदेखि ज्ञानेन्द्रसम्मको यस्तो आयो शुभकामना

कात्तिक २०, २०७४
विजयादशमीको अवसरमा राष्ट्रपतिदेखि ज्ञानेन्द्रसम्मको यस्तो आयो शुभकामना
काठमाडौं, १४ असोज—विजयादशमीको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका नेता, साथै पूर्वलगायतले शुभकामना दिएका छन् । आश्विन शुक्ल दशमीका दिन अर्थात आज विजया दशमी मान्यजनबाट टीका—जमरा ग्रहण गरेर मनाइँदैछ ।dashain


नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको र टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको जनाएको छ ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिको भनाई छ ।

विजयादशमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् चाड बडा दशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपतिले आज दिएको शुभकामना सन्देशमा सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीको प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् भनेकी छिन् ।

विभिन्न जातजाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्पराहरु हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेको उनले सन्देशमा उल्लेख गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले महान पर्व वडादशैंले हिमाल–पहाड–तराई–मधेश तथा पूर्व मेची देखि पश्चिम महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवं क्षेत्र–क्षेत्र, जातजाति र समुदाय—समुदायबीच आपसी भ्रातृत्व कायम गर्न समेत सफल रहोस् भन्ने कामना गरेकी छिन् ।

आगामी मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उल्लासपूर्ण रुपमा सहभागी भइ आफ्नो मताधिकारको प्रयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई शक्तिस्वरुपा दुर्गा भवानीले अग्रसर हुने आशिष दिउन् भन्ने भावनाका साथ उनले वडादशैको शुभकामना व्यक्त गरेकी छिन् ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको शुभकामना सन्देशमा जननिर्वाचित संविधानसभाले बनाएको संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेको, शान्ति प्रक्रिया लगभग टुङ्गिएको र मुलुकमा बल्ल राजनीतिक स्थायित्व कायम भएको उल्लेख गर्दै उल्लासमय शरद ऋतुको महान् चाड बडा दशैँको शुभकामना दिएका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले पनि विजयादशमी–२०७४ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रको निरन्तर समुन्नति र समृद्धिका साथै समस्त नेपालीमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्म निरपेक्ष मुलुक भएको र संविधानले सबै धर्म, संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने अधिकार प्रत्याभूत गरेको उल्लेख गर्दै उनले सन्देशमा संविधान कार्यान्वयनका क्रममा हालै सम्पन्न स्थानीय तहको निर्वाचन र आगामी मंसिरमा हुने सङ्घ र प्रदेशको निर्वाचनले मुलुकलाई आर्थिक समृद्धिको यात्रामा द्रुत रुपमा अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।
यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय स्वाभिमान, शान्ति र लोकतन्त्रको दिशामा मुलुकलाई अगाडि बढाउन बडादशैंबाट सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन् ।

वडादशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा मंगलमय शुभकामना व्यक्त गर्दै उनले जननिर्वाचित संविधानसभाबाट जारी संविधानको प्रभावकारी कार्यान्वयनको दिशामा मुलुक अगाडि बढेको र हालै सम्पन्न स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो साबित भएको बताएका छन् ।


अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गते प्रदेश सभा र संघीय संसदको निर्वाचन सम्पन्न भएपछि राजनीतिक संघर्ष मूलतः समाप्त हुने र आर्थिक विकासको चरणमा प्रवेश गर्ने बताउँदै ती निर्वाचनमा मुलुकलाई दु्रतत्तर विकासको मार्गमा अगाडि बढाउन सक्ने, राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानको पक्षमा प्रष्टसँग उभिनसक्ने तथा मुलुकलाई स्थिर र समृद्ध बनाउन सक्ने इमान्दार र स्वच्छ जनप्रतिनिधिलाई चुन्न आग्रह गरेका छन् ।

यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले पनि विजयादशमीको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।
आज एक शुभकामना सन्देश दिँदै उनले मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता स्थापित गर्दै जाने तथा आयातित संस्कृति र धर्मलाई निरुत्साहित गर्नुपर्ने बताए ।

सन्देशमा उनले नवदुर्गा भवानीले सबैको रक्षा गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस् भन्ने कामना गरेका छन् ।


यसैगरी मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले पनि विजयादशमीको अवसरमा शुभकामना सन्देश दिँदै नवदुर्गा भवानीले नेपालीबीच शान्ति, सद्भाव र एकता कायम गरी सिंगो मुलुकको समृद्धिको यात्रामा अघि बढ्न प्रेरणा प्रदान गरुन् भन्ने कामना गरेका छन् ।
यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस नेता रामचन्द्र पौडेल, राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा, एमाले नेता माधव नेपाल, विभिन्न संघसंस्था र संगठनलगायतले पनि विजयादशमीको शुभकामना दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्