
त्रिभुवन विश्वविद्यालयले ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नाम सार्वजनिक गरेको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले समारोहमा वितरण गर्ने पदक तथा पुरस्कार पाउने उत्कृष्ट विद्यार्थीको नाम सार्वजनिक गरेको हो । स्नातकोत्तर तहतर्फ चार जना उत्कृष्ट विद्यार्थीले दुई/दुई र स्नातक तहतर्फ एक जना उत्कृष्ट विद्यार्थीले दुई पदक तथा पुरस्कार पाएका छन् ।
कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार समारोहमा एक विद्यार्थीले तीन पदक तथा पुरस्कार प्राप्त गरेका छन् । मानविकी सङ्काय स्नातकोत्तर तहतर्फ अर्थशास्त्र विषयमा सर्वप्रथम हुने कपिल पौडेलले तीन पदक तथा पुरस्कार पाएका छन्।
विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अर्थशास्त्र केन्द्रीय विभागका पौडेलले ३ दशमलव ७७ सिजिपीए ल्याउँदै तारापद चौधरी पदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाएका छन् ।
यस्तै स्नातकोत्तर तह अङ्गे्रजी साहित्यमा ३ दशमलव ८५ सिजिपिए ल्याउँदै सारा मर्हजनले पनि दीक्षान्त पदक र पुरस्कार दुई पदक पाएकी छन् । उनले नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा मोहनप्रसाद लाखे स्वर्ण पदक पाएकी छन् ।
यस्तै बालकुमारी कलेज चितवनकी ममता सापकोटाले पनि दुई पदक पाएकी छन् । व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तह (एमविएस)मा ३ दशमलव ८७ सिजिपिए ल्याउँदै उनले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमानसिंह स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार पाएकी छन् ।
यसैगरी विश्वविद्यालय क्याम्पस कीर्तिपुरकी शिक्षा शास्त्र सङ्कायकी शर्मिला रिजाल र सोही क्याम्पसका मानविकी सङ्काय राजनीति शास्त्रका अभिनव आचार्यले पनि दुई÷/दुई वटा पुरस्कार पाएका छन् । एमएडमा गणित विषय लिई सर्वप्रथम भएका रिजालले हिमांशु दाहाल स्मृति नगर पुरस्कार र शिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार पाएकी हुन् । यस्तै एमए राजनीतिशास्त्र विषयमा सर्वप्रथम भएका आचार्यले ललितचन्द पुरस्कार र वडाकाजी मरिचमानसिंह पदक पाएका छन् ।
यसैगरी २०७८ सालको स्नातक तहतर्फको सात वटा दीक्षान्त पदक र पुरस्कारमध्ये दुईवटा पुरस्कार एकै जनाले पाएका छन् । स्नातक तहको भाइस च्यान्सलर पदक यसपटक स्नातक तहमा सर्वोकृष्ट अङ्क ल्याउने पक्लिहवा क्याम्पस पक्लिहवा भैरहवाकी अस्मिता गैरेले पाएकी छन् ।