०५ साउन २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

पल शाहविरुद्धको मुद्दा ब्युँतियो, बालकृष्णलाई ‘सेटिङ’मा छाडेको आरोप

पुस १, २०८०
काठमाडौं
पल शाहविरुद्धको मुद्दा ब्युँतियो, बालकृष्णलाई ‘सेटिङ’मा छाडेको आरोप

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्धको मुद्दा दोर्होयाएर हेर्न सर्वोच्च अदालतले अनुमति दिएको छ । 

सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले मंसिर २२ गते विगतको फैसला दोर्होयाएर हेर्ने आदेश जारी गरेको हो । सरकारी वकिलले फैसला चित्त नबुझेको भन्दै पलको मुद्दामा निस्सा मागेका थिए । 

तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडितले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेको कारण देखाएर उच्च अदालत पोखराले उनलाई सफाइ दिएको थियो ।  

फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोर्होयाएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो ।
००००
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ‘सेटिङ’मा छोडिएको आरोप लगाएका छन्

समृद्धिका लागि एमालेको मध्यपहाडी संकल्प यात्राअन्तर्गत शनिवार दिउँसो पाँचथरको फिदिममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मानव सेवा आश्रमले हेटौँडा–९ लामसुरेधापमा निर्माण गरेको भवन उद्घाटन गर्दै उनले आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको बताए ।
००००
राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच शनिवार बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हो ।

००००
‘दोहा २१औँ सम्मेलन’मा भाग लिएर परराष्ट्रमन्त्री एनपी साउद स्वदेश फर्किएका छन् । गत शनिबार बिहान उनी त्यसतर्फ प्रस्थान गरेका थिए ।

गत आइतबारदेखि कतारमा सुरु भएको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा आफूले इजरायलमा बेपत्ता भएका विपीन जोशीको रिहाइको विषयलाई गम्भीरताका साथ उठाएको मन्त्री साउदले जानकारी दिए ।
००००
सरकारले लिएको नीतिका कारण ‘एफपीओ’ को ‘प्रिमियम’ र मर्जरको ‘बार्गेन पर्चेज’ गेनबाट दुई दिनमा रु १२ अर्ब ८१ करोड राज्य कोषमा कर दाखिला भएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीकाअनुसार शुक्रबार र शनिबार ४ बजेसम्म उक्त रकम राज्यकोषमा दाखिला भएको हो ।
००००
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कुकुरले टोकेका बिरामीको सङ्ख्या बढिरहेको छ । कुकुरले टोकेपछि खोप लगाउनेको सङ्ख्या बढिरहेको अस्पतालले जनाएको छ । विगत दुई वर्षको तथ्याङ्कमा कुकुरले टोकेर रेबिजविरुद्धको खोप लगाउने आउने सङ्ख्यामा वृद्धि भएको हो ।
००००
आगामी पुस ७ गतेदेखि नारायणगढ मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ । स्थानीय तुइन खोलामा पुल निर्माणका लागि आवश्यक काम गर्न सडक बन्द गर्न लागिएको हो ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले एक वर्षमा गतिलो र चित्तबुझ्दो काम गर्न नसकेको बताएका छन् । 

कांग्रेस जिल्ला कार्यसमिति, पाल्पाले गरेको जिल्ला सम्मेलनलाई शनिवार तानसेनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
००००
कोशी प्रदेशको सुनसरी र झापामा यातायात बन्द गर्दै हिँड्ने ९ जना पक्राउ परेका छन् ।
यातायात बन्द गर्दै हिँड्ने पहिचानवादी समूहका ९ जनालाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
००००
ठगी आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी भएका एक व्यक्ति यूएईबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको साविक जानकीनगर गाविस ७ का कोमलराज उपाध्याय रहेका छन् ।
००००
नेपालमा हालसम्म पहिचान भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना कर्णाली चिसापानीको अध्ययन आगामी तीन वर्षभित्रमा सक्ने गरी नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ । 

सरकारले सो आयोजनाको सम्पूर्ण अध्ययन गर्न प्राधिकरणलाई जिम्मा दिएको छ । ठूला आयोजनाको काम अगाडि बढाउने, उर्जा सुरक्षा तथा बाढी नियन्त्रण र पानीको जोहो गर्ने लक्ष्यका साथ सरकारले ‘रणनीतिक महत्व’को सो आयोजना अगाडि बढाउन लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्