२९ जेठ २०८३, शुक्रबार

कोशी प्रदेश प्रहरी अस्पताल बेलबारीमै ल्याउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पुस १, २०८०
विराटनगर
कोशी प्रदेश प्रहरी अस्पताल बेलबारीमै ल्याउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कोशी प्रदेश प्रहरी अस्पताल मोरङको बेलबारीमै सञ्चालन गर्न माग गर्दै जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रहरी अस्पताल मोरङको बेलबारीबाट रातारात सुनसरीको इनरुवामा सारिएपछि विरोधमा उत्रेका जनप्रतिनिधि र स्थानीय राजनीतिक दलहरूले प्रधानमन्त्रीलाई आइतवार ज्ञापन पत्र बुझाएका हुन् ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, बेलबारीका मेयर दिलप्रसाद राई (डीपी), उपमेयर नितु थापा कोइराला, राष्ट्रियसभा सदस्य विना पोख्रेल, कोशी प्रदेशसभा सदस्यहरू ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिना लगायतका जनप्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटेर प्रहरी अस्पताललाई पुनः बेलबारीमै स्थापित गराउन माग गरेका हुन् ।

‘हामीले प्रधानमन्त्रीलाई भेटेर हाम्रा समस्या राख्यौं,’ प्रदेशसभा सदस्य गीता तिम्सिनाले भनिन् ‘प्रधानमन्त्रीज्यूले पनि सकारात्मक छु, भन्नु भएको छ, अब हामी थप फलो अप गर्छौं ।’

प्रहरी अस्पताल गत मंसिर २६ गते मध्यरातमा सुनसरीको सदरमुकाम इनरुवा सारिएको थियो ।

नगरबासीले खबरदारी गरेपछि स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदहरू अस्पताल फिर्ता ल्याउने प्रयासमा छन् ।

यसअघि जनप्रतिनिधि तथा राजनीतिक दलहरूले मुख्यमन्त्री केदार कार्की, कांग्रेस नेता शेखर कोइराला लगायतलाई भेटेर समस्या राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्