२६ जेठ २०८३, मंगलबार

मण्डला नाटक घरमा ‘पगला घोडा’ मञ्चन हुँदै

पुस २, २०८०
काठमाडौं
मण्डला नाटक घरमा ‘पगला घोडा’ मञ्चन हुँदै

थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा नाटक ‘पगला घोडा’ मञ्चन हुने भएको छ । 

नाटकको जानकारी दिने हेतुले निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ । नाटक पुस १२ बाट माघ ६ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ । शनिवार भने नाटक दुई सो राखिने जनाइएको छ । 

भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यस नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । बादल सरकार १९७० को दशकमा प्रगतिशील, स्थापना विरोधी नाटकहरूका लागि परिचित थिए । 

नाटकलाई निर्देशक घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् । पछिल्लो समय विभिन्न कारणले युवा वर्गमा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ । यस संवेदनशील विषयवस्तुलाई दर्शक माझ कला मार्फत सम्बोधन गर्न र यस अवस्थाको बारेमा मानिसहरूलाई सचेत गराउन यस नाटकको परिकल्पना गरिएको उनी बताउँछन् । अहिले समाजमा घटेको घटनालाई दर्शक सामु प्रत्यक्ष रुपमा देखाउनलाई ‘पगला घोडा’ एक उत्कृष्ट कथा रहेको उनको भनाई छ । 

नाटकमा रङ्गमञ्चका अब्बल कलाकारहरूको अभिनय रहेको छ । कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, अशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारीलगायत मञ्चमा देखिने छन् । नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र  शंकर भण्डारी  स्टेज म्यानेजरको रुपमा रहेका छन् । 

यस नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् । उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रुपमा कलाकार  तथा निर्देशक अशान्त शर्माले सहयोग गरेका छन् । 

२०६८ सालमा स्थापना भएको थिएटर आकारले थुप्रै नाटकहरू मञ्चन गरिसकेको छ । जसमा ‘अनुहार हराएको’, ‘बिम्बाको सपना’, ‘यो कुनै बास हो एक’, ‘बेड नम्बर ९९’, ‘तीन बहिनी’, सोलो म्युजिकल प्रस्तुति (भरत नाट्य) लगायत रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्