०९ असार २०८३, मंगलबार

सिकाइ सुधार गर्न शिक्षक–अभिभावकको सक्रियता आवश्यक

पुस ४, २०८०
कैलाली
सिकाइ सुधार गर्न शिक्षक–अभिभावकको सक्रियता आवश्यक
फाइल तस्वीर

विद्यालयको शैक्षिक विकासका लागि शिक्षक अभिभावक सङ्घको भूमिका बढाउनुपर्नेमा निष्क्रियता बढ्दै गएको छ । विद्यालयका हरेक समस्या समाधान र शैक्षिक गुणस्तर बढाउन अभिभावक सङ्घको भूमिका बढाउनुपर्ने प्रधानाध्यापक बताउँछन् । 

विद्यालयमा शिक्षा नियमावलीअनुसार विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ गठन गरिएको हुन्छ । विद्यालय व्यवस्थापन समितिले विद्यालय सञ्चालन, रेखदेख र नियन्त्रणको जिम्मेवारी रहन्छ, भने शिक्षक अभिभावक सङ्घको विद्यालय व्यवस्थापन समितिले गरेका काम, शिक्षाको गुणस्तरको अवस्था र विद्यालयले वर्षभरि गरेका कामको सामाजिक परीक्षण गर्नुका साथै विद्यालय तथा अभिभावकबीचको सम्पर्क व्यक्तिकारूपमा शिक्षक अभिभावक सङ्घको भूमिका रहन्छ ।

‘अभिभावक सङ्घको भूमिका धेरै हुने भए पनि विद्यालयमा व्यवस्थापन समितिले मात्रै काम गरिरहेको जस्तो देखिन्छ,' अभिभावक श्रीराम पाण्डेले भने, ‘बढी भूमिका रहेको अभिभावक सङ्घलाई सक्रिय बनाउनु पर्छ । अनि मात्र विद्यालयमा सुशासन कायम हुन्छ, शैक्षिक सुधारमा सहयोग पुग्छ ।’ शिक्षक अभिभावक सङ्घ विद्यालयको सवालमा महत्वपूर्ण पाटो हो भन्ने थाहा हुँदाहुँदै पनि शिक्षक अभिभावक सङ्घमा पनि केही कमजोरी रहेका सरस्वती माध्यामिक विद्यालय टीकापुर–१ वन गाउँका शिक्षक अभिभावक सङ्घका अध्यक्ष गणेश विक बताउँछन् ।

‘भूमिका धेरै छ तर हामीले निभाउन सकेका छैनौँ,’ उनी भन्छन्, ‘विद्यालयमा खासै चासो देखाएको छैन । निभाउनुपर्ने जिम्मेवारी पूरा गर्न सकेको छैन । व्यवस्थापन समितिभन्दा अभिभावक सङ्घमाथि हुन्छ । हामीले यो भूमिकालाई सामान्य रुपमा लिएका छौँ । यो गलत हो ।’ विद्यालयको शैक्षिक गुणस्तर र अन्य विविध कुरामा विद्यालय व्यवस्थापन समिति जति शिक्षक अभिभावक सङ्घ सक्रिय भएको देखिँदैन । 

अभिभावक सङ्घले विद्यालय अनुगमन गर्नेलगायत जिम्मा विद्यालय व्यवस्थापन समितिको मात्र भएको सोच्ने गरेको शिक्षकको गुनासो छ । शिक्षक अभिभावक सङ्घ पटक पटक विद्यालय आउने, अनुगमन गर्ने र शैक्षिक गुणस्तरलगायत विविध पक्षमा अनुगमन होस् भन्ने चाहेको प्रगतशील बालविद्या केन्द्र टीकापुरका प्रधानाध्यापक हृदयराज रेग्मीले बताए । 

‘अभिभावक सङ्घ सक्रिय हुनुपर्छ । व्यवस्थापन समिति जस्तै सक्रियता देखाउनुपर्ने हुन्छ,' उनले भने, ‘विद्यालय प्रशासनलाई झक्झक्याउने, भौतिक, आर्थिक कुरामा पनि सल्लाह दिनुपर्ने, कम्तीमा महिनामा एक दिन आएर सल्लाह दिने, समस्या बुझ्ने काम गर्नुपर्छ । ’

विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा शिक्षक अभिभावक सङ्घको पनि उत्तिकै भूमिका रहन्छ । विद्यालय सञ्चालनका क्रममा शिक्षक अभिभावक सङ्घ पनि विद्यालयको महत्वपूर्ण अङ्ग हो ।

शिक्षक अभिभावक सङ्घ जिम्मेवारी धेरै भए पनि व्यवहारमा त्यस्तो नदेखिएको कर्णाली मावि सप्तरिका प्रधानाध्यापक जगवीर शाह बताउँछन् । ‘शिक्षाको गुणस्तर र अभिभावकको सक्रिय सहभागिताका लागि शिक्षक अभिभावक सङ्घ चाहिएको हो । विद्यालयमा त्यसको प्रभावकारिता बढाउनुपर्छ,' उनले भने, ‘अन्य पक्षले गरेका काम र सेवाबारे अनुगमन गर्ने काम अभिभावको हुनुपर्छ । अभिभावक सङ्घ सक्रिय भएमा विद्यार्थी र अभिभावकलाई सक्रिय बनाउन सहयोग पुग्छ ।’

हरेक विद्यालयमा शिक्षक अभिभावक सङ्घ गठन गरिएको हुन्छ । 

सामुदायिक विद्यालयमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको हुन्छ भने संस्थागत विद्यालयमा ७ सदस्यीय शिक्षक अभिभावक सङ्घ गठन गरिएको हुन्छ । 
टीकापुर नगरपालिका शिक्षा अधिकृत नरेश अवस्थीले शिक्षक अभिभावक सङ्घ विद्यालयको अभिन्न अङ्ग रहेको बताए । ‘विद्यालय व्यवस्थापन समितिका सबै काममा निगरानी गर्ने, अनुगमन गर्ने काम अभिभावक सङ्घको हो,' उनले भने, ‘सिकाइ उपलब्धि बढाउन सहयोग गर्नुका साथै अभिभावक सङ्घले विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीबीच सम्पर्क व्यक्तिका रुपमा काम गर्छ । विद्यालय भर्नादेखि नै अभिभावक सङ्घको सक्रियता रहन्छ र हुनुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्