
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा शुरू हुँदैछ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को वार्षिक कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आजदेखि हुन लागेको हो ।
टी–२० ढाँचामा हुने खेलको व्यवस्थापन नेपाल क्रिकेट संघ (क्यान)ले गरेको छ । १४ दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी छन् । खेलहरु कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन् ।
आज पहिलो दिन चार खेल हुँदैछन् । बागमती र मधेश प्रदेशबीच टीयू मैदानमा उद्घाटन खेल हुनेछ । खेल बिहान साढे ९ बजे शुरू हुनेछ । सोही समयमा एपीएफ र सुदूरपश्चिमबीच मुलपानी मेदानमा खेल हुनेछ ।
यस्तै, गण्डकी र लुम्बिनीबीच त्रिवि मैदानमा दिउँसो सवा १ बजे खेल हुनेछ भने सोही समयमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच मूलपानी मैदानमा खेल हुनेछ ।
प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ ।