सरकारले आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि कम जनसंख्या रहेका दलितबाहेक अल्पसंख्यक जातजातिलाई अल्पसख्यकको रुपमा तोक्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड (ख)को प्रयोजनका लागि राष्ट्रिय जनगणना, २०७८ को कूल जनसंख्याको ०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति (दलितबाहेक)लाई अल्पसंख्यकको रुपमा तोक्ने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस्तै मन्त्रिपरिषद् बैठकले सामाजिक समितिद्वारा पेश भएको सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशका स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।
यसैगरी अपांगता भएकासम्बन्धी राष्ट्रिय नीति २०७८ र राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ ।