
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारकै कारण गौतमबुद्ध विमानस्थल चल्न नसकेको बताएका छन् ।
बिहीवार बुटवलमा शुरू भएको लुम्बिनी एक्स्पोको उद्घाटन गर्दै नेता पौडेलले बनेको विमानस्थल चलाउन नसक्ने सरकारले अरू कुनै काम गर्न नसक्ने दाबी गरे ।
‘यो एयरपोर्ट सरकारकै कारण चल्न नसकेको हो’, उनले भने, ‘सरकार, मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, सचिवले पहल गर्नुपर्ने काम हो । उनीहरूले केही गर्न सकेनन् । बनेको विमानस्थल चलाउन नसक्ने सरकारले केही गरेर खाँदैन ।’
वर्तमान सरकार सम्पूर्णरुपमा असफल भएको भन्दै पौडेलले असफल सरकारले देशको सही नेतृत्व गर्न नसक्ने बताए ।
‘हामीले धेरै मेहनत गरेर बनाइएको विमानस्थल हो । व्यवसायीहरू चिन्ता नलिनुहोस्, हामी विमानस्थल चलाएरै छाड्छौं । आकर्षक विमानस्थलको रुपमा अघि बढाएरै छाड्छौं ।’
बुटवल नारायणगढ सडक निर्माणमा पनि लापरबाही भएको पौडेलले बताए ।
‘निर्माण कम्पनीले ढिलासुस्ती र लापरबाही गर्दा सरकारले तमासा हेरेर बस्ने होइन', पौडेलले भने, ‘गुणस्तरीयरुपमा सञ्चालन गर्न सघाउन सकेको छैन । सडक निर्माणको ढिला सुस्ती ‘टु मच’ भइसक्यो ।’
बुटवल बजार क्षेत्रको सडक सरकारकै कारण बन्न नसकेको पौडेलले आरोप लगाए । बुटवललाई आकर्षित र विकासशील शहर बनाउन आफू अविछिन्नरुपमा लाग्ने उनले प्रतिबद्धता जनाए ।
तिनाउ-दावन करिडोरका लागि छुटाइएको बजेट कटौती गरेर निर्माणमा चुनौती खडा गरिएको उनको भनाइ छ । अहिले देशको अर्थतन्त्र हेर्दा आङ सिरिङ्ग हुने पौडेलले बताए ।
‘सरकारको ढुकुटी २ खर्बले ऋणात्मक छ । सरकारले कर्मचारीलाई तलब र साधारण खर्च तिर्न नसकेर ऋण उठाएको छ । राजश्व संकलन हुन सकेको छैन । राजश्व लक्ष्यअनुसार उठ्न सकेको छैन । राजश्वले साधारण खर्च धान्न सकेको छैन । गत वर्षभन्दा ६० प्रतिशत कम सहयोग प्राप्त हुन्छ भन्ने बताएका छन् । पुँजीगत खर्च पनि लथालिङ्ग छ’ उनले भने ।
ठूला आयोजना बजेटको कारणले कार्यान्वयन हुन नसक्ने अवस्थामा पुगेको उनले बताए ।