
काठमाडौं, १५ असोज — भारतको मुम्बईमा एल्फिन्स्टन रेलवे स्टेसनमा शुक्रवार भएको भागदौडमा परी २२ जनाको मृत्यु भएको घटनामा अमानवीयता देखिने क्रियाकलाप पनि सार्वजनिक भएका छन् ।

एउटा तस्वीरमा केही मानिस एक महिलाको शरीरबाट सुनको कंगन निकालिरहेका देखिन्छन् । महिलाका नातेदारहरूले यस घटनाको जाँचको माग गरिरहेका छन् ।
महिलाको पहिचान खुलेको छ । उनको नाम सुमलता शेट्टी हो ।
फोटोमा एक पुरुषले ती महिलाको नाडी समातेको देखिन्छ । अर्कोले चाहिँ उनको सुनको कंगन उतारिरहेको देखिन्छ ।
फोटोको अर्को भागमा अर्को मानिस चाहिँ गोजी खोजिरहेको देखिन्छ ।
सुमलता आफ्नी साथी सुजाताका साथ दादर बजारबाट फूल लिएर फर्किंदै थिइन् । दुर्घटना हुँदा उनीहरू आकाशेपुलमा थिए ।
सुमलताका छिमेकी गणेश शेट्टीले भने, ‘हामीहरू सुमलताको लाश लिन अस्पताल जाँदा उसको शरीरमा कुनै पनि गहना थिएन । सबै चोरी भइसकेको रहेछ । लाशबाट केही मानिसले गहना चोरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको देख्यौं । यो लाजमर्दो स्थिति हो । मानिस यतिसम्म पनि गिर्न सक्छ भन्ने मलाई विश्वासै भइरहेको छैन ।’
गणेशले थपे, ‘हामीहरूले त्यो फोटो मुख्यमन्त्री र मुम्बई प्रहरी कमिस्नरलाई ट्वीट गरेर आरोपीलाई तत्कालै पक्राउ गर्न माग गरेका छौं ।’
शुक्रवार बिहान लगभग पौने ११ बजे उक्त दुर्घटना भएको थियो । प्रहरीका अनुसार, चर्को आवाजमा बिजुली पड्किँदा मानिस आत्तिए र भागदौड मच्चियो । अनि किचिएरै २२ जनाको मृत्यु भयो ।
एल्फिन्स्टन आकाशेपुल १०४ वर्ष पुरानो छ ।
एजेन्सी