
भ्रष्टाचार मुद्दामा विशेष अदालत, काठमाडौंको फैसलाविरुद्ध सर्वाेच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषको फैसला चित्त नबुझी शुक्रवार सर्वाेच्चमा पुनरावेदन मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
एक अर्ब २४ करोड ३५ लाख २६ हजार ६४३ रुपैयाँ बराबरको राजस्व चुहावट गरेर भ्रष्टाचार गरेको कसुरमा घिमिरेसहितका व्यक्तिमाथि अख्तियारले मुद्दा दायर गरेको हो ।
यसैगरी, ९ सिमेन्ट तथा चुन ढुंगा कम्पनीका कम्पनीका ९ जना सञ्चालकलाई पनि भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।
मुद्दा दायर गरिएकाहरूलाई राजश्व चुहावट गरे बराबरको फरक–फरक रकम बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।
तर विशेषले उक्त मुद्दामा दाबी नपुग्ने भन्दै उनीहरूलाई सफाइ दिएको थियो ।
विशेषको सो फैसला चित्त नबुझी शुक्रवार सर्वाेच्चमा पुनरावेदन मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।