लमजुङ बेँसीसहर नगरपालिका–८ मा चरी बाघ भेटिएको छ ।
बेँसीसहर –८ का दलबहादुर पौडेलले लगाएको केराको गाँजमा लुकेर बसेका अवस्थामा आइतबार बाघ फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए ।
उनले उक्त स्थानमा चरी बाघ पसेको खबर आएपछि प्रहरी पुगेको र डिभिजन वन कार्यालय लमजुङका कर्मचारीद्वारा बाघ नियन्त्रणमा लिने प्रयास गरे पनि पहिलोपटकमा असफल भएको बताए ।
पुनः डिभिजन कार्यालयका फरेस्टर गुणाबहादुर ग्लानले बोराको सहायताले बाघलाई नियन्त्रणमा लिएका थिए ।
डिभिजन वन कार्यालयका प्रमुख सन्तोष खनालले बाघलाई नियन्त्रणमा लिएर पुनः जङ्गलमा लगेर छोडिएको बताए ।
उनले भने, 'आहारा खोज्दै आउने क्रममा यहाँसम्म आइपुगेको हुनसक्छ ।'
मान्छेलाई भने यस बाघले आक्रमण नगर्ने उनको भनाइ छ । जीवितै उद्धार गरेकाले भाले–पोथी नहेरी जङ्गलमा छाडिएको उनले बताए ।