
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी बिल) अगाडि बढाउन प्रमुख तीन दल सहमति नजिक पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साँझ बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेतासहितको बैठक संसद्को आगामी अधिवेशनमा नै विधेयक अगाडि बढाउन सहमति नजिक पुगेको हो ।
बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद्को आगामी अधिवेशनमा विधेयक अगाडि बढाउने समझदारी भएको र विधेयकका सबै विषयमा सहमति नजिक पुगिएको बताए ।
यस विषयमा भोलि वा पर्सिमा थप छलफल हुने उनले जानकारी दिए ।
'विधेयक अगाडि बढाउने कुरामा हामी कहीँ अवरोध सिर्जना गर्दैनौं, तर सर्वोच्चको आदेश, अन्तर्राष्ट्रिय सन्धि सम्झौता ख्याल गर्दै भिक्टिमलाई सेन्टरमा राखेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो कुरा थियो,' बर्तौलाले भने, 'यी सबै कुरामा साझा ढंगबाट जाने आजको बैठकको निष्कर्ष रह्यो ।'
पीडितलाई केन्द्रमा राखेर कानून बनाउन सरकार तयार भएको भन्दै उनले सकारात्मक ढंगले अगाडि बढ्ने परिस्थिति बनेको पनि बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, कानून मन्त्री धनराज गुरुङ, माओवादी उपमहासचिव वर्षमान पुन, एमाले सचेतक महेश बर्तौलालगायत सहभागी थिए ।
उक्त विधेयक प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन छ ।