११ साउन २०८३, सोमबार

पाण्डे नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले गर्‍यो चीनको च्याङ्सु प्रान्तका उपप्रमुखसँग भेटवार्ता

पुस १०, २०८०
काठमाडौं
पाण्डे नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले गर्‍यो चीनको च्याङ्सु प्रान्तका उपप्रमुखसँग भेटवार्ता

चीन भ्रमणमा रहेको  संसदीय प्रतिनिधिमण्डलले च्याङ्सु प्रान्तका जनकंग्रेस उपप्रमुख चाङ पाउच्वानसँग भेटवार्ता गरेको छ ।

नेपाली प्रतिनिधिमण्डलका नेता नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे नेतृत्वको टोलीले जनकंग्रेस उपप्रमुख पाउच्वानसँग नानजिङमा सोमवार अपराह्न भेटवार्ता गरेको हो ।

त्यस अवसरमा  द्विपक्षीय हित, आपसी सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

नेता पाण्डेले नेपाल र चीनबीच सदियौँदेखिको सम्बन्ध रहेको बताउँदै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका प्रधानमन्त्रीको पछिल्लो चीन भ्रमणले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि पारस्परिक सम्बन्ध विस्तार भएको बताए । उनले छोटो समयमा नै चीनले गरेको द्रुत विकास सराहना गर्दै नेपालका तीनवटै तहका सरकारले विकासका लागि अधिकतम् काम गर्दै आएको जानकारी दिए ।

च्याङ्सु प्रान्तका जनकंग्रेस उपप्रमुख चाङ पाउच्वानले नेपाली संसदीय टोलीलाई स्वागत गर्दै प्राचीनकालदेखि दुई मुलुकबीच आत्मीय सम्बन्ध रहेको बताए । नेपालको सौन्दर्यबाट चिनियाँ पर्यटक मन्त्रमुग्ध भएर स्वदेश फर्किने गरेका बताउँदै उनले नेपालको पर्ययन क्षेत्र विकासका प्रशस्त सम्भावना बोकेको देश हो भने । 

सङ्घीय संसद्को २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने चीन भ्रमणका लागि गत पुस २ गते बेइजिङ प्रस्थान गरेको थियो । माओवादी केन्द्रका मुख्य सचेतक पाण्डेको नेतृत्वमा रहेको २० सदस्यीय प्रमण्डलमा नेपाली कांग्रेस र नेकपा (एमाले)का पाँच–पाँच, नेकपा (माओवादी केन्द्र)का तीन तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)बाट एक–एक जना छन् । 

चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमी (आईबीओ)को कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन भ्रमण्मा गएको हो ।  संसदीय टोली यही पुस १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।
 

salt training

कमेन्ट गर्नुहोस्