
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
गत वर्ष माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले छानबिन प्रतिवेदन बुझाएको छ ।
जाँचबुझ आयोगले बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीलाई प्रतिवेदन हस्तान्तरण गरेको हो । प्रतिवेदनमा दुर्घटना मानवीय कमजोरीका कारण भएको निष्कर्ष निकालिएको छ ।
प्रतिवेदनमा पाइलटको त्रुटिका कारण विमानले उध्र्वचाप गुमाएको उल्लेख छ । पाइलट धेरै काम गर्दा थाकेको र ‘स्ट्रेस’मा रहेको उल्लेख गरिएको छ । दुर्घटनामा ४ चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो ।
००००
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २ सचिवसहित ६८ कर्मचारीको दरबन्दी कटौती गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीको दरबन्दी संख्या २३४ बाट घटाएर १६६ मा झारेको हो ।
००००
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता तिर्न चाहने उद्योगहरूका लागि सहजीकरण गरिदिने बताएका छन् ।
डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी विवादित विषयमा आफ्नो धारणा स्पष्ट पार्न विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा बिहीवार एक पत्रकार सम्मेलन गर्दै घिसिङले उद्योगी र विद्युत प्राधिकरणबीच देखिएको विवाद समाधान गरेर जानुपर्ने बताएका हुन् ।
००००
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
कानूनव्यवसायीहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिमिल्सना र चुडामणि भण्डारीले दायर गरेको रिटमा गर्भनर अधिकारीको शैक्षिक योग्यता नपुगेको दाबी गरिएको छ । उक्त निवेदनमाथि शुक्रवार सुनुवाइ हुने सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले राससलाई जानकारी दिए ।
००००
दुई वर्ष पाँच महिनाकी शिशु अपहरणमा परेको ३६ घण्टापछि सकुशल अपहरणमुक्त भएकी छन् ।
नेपाल प्रहरीको एक टोलीले बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्याङ्कीबाट उनलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।
००००
धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले प्रमुख हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीका तस्वीर हटाएर गलत गरेका प्रतिक्रिया दिएका छन् । उनले मेयर साम्पाङले संविधानले तय गरेको मर्यादालाई पालना गर्नुपर्ने बताए ।
००००
नेकपा एकीकृत समाजवादीको सातौँ केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यले ५० वर्षमुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने माग गरेका छन् ।
बैठकमा उनीहरूले ७० वर्षको उमेर हद लगाउन नहुने, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने,केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्ने, अध्यक्षले मनोमानी गरेमा हटाउन सक्ने व्यवस्था हुनुपर्ने माग पनि गरेका छन् ।
००००
पोखरा थन्डर्सलाई पाखा लगाउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरमा पोखरालाई २–१ गोल अन्तरले हराउँदै ललितपुर फाइनलमा पुगेको हो ।
००००
नेपाली कांग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पनि जारी रहने भएको छ । बिहीबारको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरु प्रस्तुत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
००००
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको नियुक्तिमाथि प्रश्न उठाउँदै निजको शैक्षिक योग्यताबारे छानबिन गर्न निर्देशन दिएको छ ।
समितिको बिहीबारको बैठकले कोषको कार्यकारी निर्देशक नियुक्तिप्रति व्यापक विरोध भएको जनाउदैै निजको नियुक्तिबारे स्पष्ट गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोषलाई निर्देशन दिएको हो ।
समितिले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकको नियुक्तिसम्बन्धी कागजात तीन दिनभित्र समितिसमक्ष पेस गर्न निर्देशन पनि दिएको छ ।
००००
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको मुद्दाको सुनुवाइ नसकिएपछि बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीकै तर्फबाट बयान नसकिएपछि मुद्दालाई बिहीवार पनि हेर्दाहेर्दैमा राखिएको हो ।
आइतवारदेखि अन्तिम सुनुवाइ शुरू भएको मुद्दामा बिहीवार आदेश आउन सक्ने अपेक्षा थियो ।
प्रतिवादीको बहस नसकिएको र जवाफी बहस समेत बाँकी नै रहेको अवस्थामा शुक्रवार पुनस् सुनुवाइ हुनेछ ।
लामिछानेमाथि नाबालिक बलात्कारको अभियोग छ ।
००००
माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम देहायका ७ जना जिल्ला न्यायाधीशहरूलाई पुस १६ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।