२७ जेठ २०८३, बुधबार

फिल्म ‘रक्तबीज’ निर्माणको घोषणा

पुस १३, २०८०
काठमाडौं
फिल्म ‘रक्तबीज’ निर्माणको घोषणा

निर्माता संजय न्यौपानेले फिल्म ‘रक्तबीज’को निर्माण घोषणा गरेका छन् । 

शुक्रबार कथा, पटकथा तथा संवाद लेखकको रुपमा प्रदीप भारद्वाजलाई अनुबन्धित गर्दै उनले फिल्म निर्माणको घोषणा गरेका हुन् । 

निर्माता न्यौपानेले यसअघि ‘प्रेम दिवस’ नाममा फिल्म निर्माण गरेका थिए । उनले थुप्रै फिल्ममा अभिनय समेत गरेका छन् । यो फिल्ममा अभिनेता सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भुमिका रहने न्यौपानेले जानकारी दिए । अभिनेता खरेलले निर्माता न्यौपानेको ‘प्रेम दिवस’बाट अभिनयमा डेब्यु गरेका थिए । 

फिल्मको छायांकन अर्को वर्षको असोजबाट गरिने निर्माता न्यौपानेले बताए । 

संजय न्यौपाने प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा एलए ग्रुप अमेरिका र कमल खतिवडाको लगानी रहनेछ । संजय न्यौपाने प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता खतिवडा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । निर्माता खतिवडाले राम्रो टिम र स्क्रिप्ट भएकाले फिल्ममा लगानी गर्न तयार भएको बताए । 

अभिनेता सौगात मल्लले लेखक प्रदीप भारद्वाजले केही समय अगाडि नै कथा सुनाएको र आफूलाई स्क्रिप्ट र भूमिका निकै मन परेकाले काम गर्न तयार भएको बताए । फिल्मको मुख्य अभिनेत्रीलगायत मुख्य भूमिकामा काम गर्ने केही कलाकार र निर्देशकको केही दिनमा टुङ्गो लाग्ने निर्माण टिमले जनाएको छ । 

सिनेमा डार्क एक्सन जनरामा निर्माण हुने जनाइएको छ । सौरभ लामाले खिच्ने फिल्मको सम्पूर्ण छायांकन पूर्वी नेपालको इलाम र झापामा गरिने जानकारी दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्