
यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ ।
उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जेठ २९ गते नै निर्णय गरेको तथा उच्च अदालत पाटनमा परेको मुद्दामा पनि अदालतले यथास्थितिमै राखेको भएपनि यशोदा फूड्सले आफूविरुद्ध नियोजित भ्रम फैल्याएको दाबी गरेको छ ।
उद्योग विभागको फैसला चित्त नबुझेपछि सीजी फूड्स उक्त मुद्दा लिएर पाटन उच्च अदालत पुगेको थियो ।
पाटन उच्च अदालतले पनि विपक्षीले गरेको मागदावीका सम्बन्धमा न्यायीक परीक्षण भई अन्तिम टुंगो लाग्न बाँकी रहेको भन्दै उद्योग विभागको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो ।
तर 'उत्पादनमा रोक लाग्यो भन्दै' आफूविरुद्ध नियोजित भ्रम छरिएको यशोदा फूड्सले दाबी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, 'पाटन उच्च अदालतले गरेको आदेशको अपव्याख्या गरी विभिन्न सञ्चारमाध्यममा यस कम्पनीको उत्पादनको विक्रीवितरणमा उच्चअदालतले रोक लगाएको भनी दुष्प्रचार गरेको कुरामा यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।'
'उच्च अदालतले सुरु उद्योग विभागको निर्णय कार्यान्वन नगर्न अर्थात् विवादित लेबलको दर्ता प्रमाणपत्र दिने कार्य रोक्नमात्र आदेश गरेको विषयलाई गलत व्याख्या गरी विक्रीवितरणमै रोक लगाएको भन्ने भ्रामक समाचारमा कुनै सत्यता नरहेको हुँदा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, ग्राहकवर्ग, व्यापारी वर्ग तथा डिलरहरु समक्ष उक्त भ्रामक समाचारको पछि नलागी निरन्तर उपभोग तथाविक्रीवितरण गरिरहनहुन समेत अनुरोध गर्दछौँ,' विज्ञप्तिमा थप भनिएको छ ।
