भारतमा पक्राउ परेका देवनारायण (चस्मा लगाएका) र उनका छोरा । तस्बिरः सामाजिक सञ्जालबाट
सप्तरी, १६ असोज– गत वर्ष भारतीय ज्यादतीको विरोधमा रगत बगाएर चर्चित बनेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको भन्दै अहिले सवत्र विरोध भइरहेको छ । उनको रिहाईका लागि गृहमन्त्री जनार्दन शर्माले नै पहल गरेका छन् ।
तर यादव पक्राउ पर्नुको प्रमुख कारण ‘वालविवाह’ रहेको खुलासा भएको छ । गृहमन्त्री स्तरबाट नै घटनाको विषयमा चासो लिइएपछि अहिले सप्तरी प्रशासनले यादवको पक्राउबारे भारतीय अधिकारीसँग जानकारी लिएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयका अनुसार उमेर नपुगेकी केटीलाई जबरजस्ती भगाएर विवाह गरेको भन्दै देवनारायणका छोरा अजय यादवविरुद्ध गत जेठ २० गते (जुन ३ मा) कुनौली पुलिस थानामा उजुरी परेको थियो ।
देवनारायणका छोरा अजयले विवाह गर्ने भन्दै भगाएर ल्याएकी युवतीका आमा–बुवाले नै उक्त उजुरी दर्ता गराएको भारतीय पक्षको भनाइ छ ।
उजुरी दर्ता भए पनि यसअघिसम्म भारतीय प्रहरीले अजयलाई पक्राउ गरेको थिएन । तर विजया दशमीको टीकाको दिन (शनिवार) भारतीय बजारमा लागेको ‘दशहेरा मेला’ हेर्न गएको बेला अजय पक्राउ परे । नेपालबाट रक्सी सेवन गरी मदिरा निषेधित क्षेत्रमा गएर हो–हल्ला गरेको अभियोगमा भारतीय प्रहरीले अजय र अन्य दुईजना नेपाली युवालाई पक्राउ गरेको थियो ।
अन्य दुई नेपालीलाई सामान्य सोधपुछ पछि छाडिए पनि अजयविरुद्ध बालविवाहको मुद्दा रहेको भन्दै भारतीय प्रहरीले अनुसन्धानका लागि थुनामा राखेको बुझिएको छ ।
भारतीय प्रहरीले पक्राउ गरेका छोरालाई छुटाउन जाँदा देवनारायण पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार छोरालाई छुटाउन गएका देवनारायणले कुनौली पुलिस थानाका प्रमुखविरुद्ध ‘गाली–गलौचजन्य’ शब्द प्रयोग गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी पाण्डेयले पनि वालविवाहकै मुद्दामा देवनारायणका छोरा अजयलाई पक्राउ गरिएको जानकारी प्राप्त भएको बताए । ‘घटनाको बारेमा सुपौलका डीएम (डिस्ट्रिक मजिस्ट्रेट)सँग बुझ्दा बालविवाहको मुद्दासँग जोडिएको रहेछ,’ प्रजिअ पाण्डेयले लोकान्तरलाई भने, ‘पक्राउ परेका छोरालाई छुटाउन गएका देवनारायणजीले प्रहरी प्रमुखलाई अपशब्द बोलेपछि उहाँलाई पनि पक्राउ गरिएको भन्ने रिपोर्ट प्राप्त भएको छ ।’
गृहमन्त्रीले कूटनीतिक पहल गर्ने
गृहमन्त्री जनार्दन शर्माले देवनारायण पक्राउको विषयलाई गम्भीर रुपमा लिएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत देवनारायणलाई तत्काल रिहा गर्नका लागि पहल गर्न भनेपछि गृहमन्त्रीले घटनालाई गम्भीरतापूर्वक लिएको उनका एक सहयोगीले लोकान्तरलाई बताए ।
ती सहयोगीका अनुसार देवनारायणलाई छुटाउन प्रारम्भिक चरणमा स्थानीय प्रशासनबाट पहल गर्ने र नभए परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल थाल्ने गृहमन्त्री शर्माको योजना छ ।