
पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी बुढासुब्बा डिजिटल प्रालिले प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ ।
कोष सञ्चालक परिषद्का कार्यकारी निर्देशक लक्ष्मी पुनले आज एक सूचना प्रकाशित गर्नु भई बुढासुब्बा डिजिटल प्रालीद्वारा प्रकाशित उक्त सूचनामा कोषको गम्भीर ध्यानाकर्षण भएको बताएकी हुन् ।
'बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडियो सामग्री फेसबूक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपिराइट ऐनअन्तर्गत कारबाही हुने जानकारी गराउँदछौं' भन्ने सूचनामा विकास कोषको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त सूचनामा कोषको लोगो र नामसमेत राखिएकोमा कोषको असहमति जनाएको छ ।
प्रकाशित सूचनामा कोषको कुनै पनि संलग्नता नरहेको कोषद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
