
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालको स्वतन्त्रता सार्वभौमिकता, स्वाधिनता र नेपाली स्वाभिमानलाई भारतको पाउमा चढाएको आरोप लगाएका छन् ।
उनले शुक्रवार एक वक्तव्य जारी गर्दै नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्रीका एस जयशंकरबीच बिहीवार भएको सम्झौताप्रति लक्षित गरेर यस्तो आरोप लगाएका हुन् ।
नेपाल सरकारको अनुमतिविना भारतीय दूतावासले नेपालका कुनै पनि परियोजनामा प्रतिपरियोजना २० करोड रुपैयाँ लगानी सहयोग गर्ने निर्णय नेपालको इतिहासमा थप अर्को कलंकित घटनाको रुपमा देखिएको राष्ट्रिसभाका सांसदसमेत रहेका गौतमले स्पष्ट पारेका छन् ।
‘हिजो १९ पुषका दिन नेपालका परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्रीका बीच भएको नेपाल सरकारको अनुमतिविना भारतीय दूतावासले नेपालका कुनै पनि प्रोजेक्टमा प्रतिप्रोजेक्ट २० करोड लगानी सहयोग गर्ने निर्णय नेपालको इतिहासमा थप अर्को कलंकित घटनाको रुपमा देखिएको छ,’ उनले भनेका छन् ।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गौतमले अब भारतीय दूतावासले एकैपटक ७५३ पालिका र ७ प्रदेशलाई परियोजनाका नाममा पैसा बाँड्न सक्ने पनि बताएका छन् ।
‘अब भारतीय दूतावासले एकैपटक ७५३ पालिका र ७ प्रदेशलाई बाँड्न सक्नेछ । त्यसैगरी सडक परियोजना, खानेपानी परियोजना र अन्य कुनै पनि परियोजनामा पनि बाँड्न सक्नेछ,’ उनले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका छन्, ‘यस्तो भएपछि नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधिनता तथा आजसम्म कायम रहेको नेपाली स्वाभिमानलाई भारतको पाउमा चढाएको भएन र ? यो निर्णयका विरुद्ध देश र विदेशमा रहेका सम्पूर्ण नेपाली जनता र नेपाली संघियताका तीनै तहका सभाले विरोध र भत्र्सना गर्नु पर्दछ ।’