
नेपाल विद्युत् प्राधिकरणले लाइन काटिदिएपछि उद्योगमा कार्यरत मजदुर र प्रतिनिधि प्राधिकरणविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।
बुटवल–भैरहवा करिडोरका उद्योगी र मजदुरले भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालयमा धर्नाका साथै प्रदर्शन गरेका हुन् । उद्योगीले अदालतको फैसला नआउञ्जेल लाइन जडान गर्न माग गर्दै ज्ञापनपत्र पनि बुझाएका छन् ।
‘फर्जी बिल फिर्ता ले, नियमन आयोगको नियम लागू गर, उद्योग बन्द भए हामी कहाँ जाउँला, महसुल निर्धारण आयोगको निर्णय लागू गर’ लगायतका प्ले कार्डसहित मजदुरहरू प्राधिकरणमा पुगेका थिए ।
कोरिडोरमा सञ्चालित १९ उद्योगहरूमा प्राधिकरण भैरहवा तथा नयाँ मिल वितरण केन्द्रले अन्यायपूर्ण ढंगले ट्रंक लाइनको छुट बिलिङ गरेकाले ‘छुट बिल’को विरुद्ध कानूनी बाटो अवलम्बन गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघ, ररुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । उनले ट्रंक लाइनको नाममा उद्योग मास्न नपाइने बताए ।

विद्युत प्राधिकरणले सप्रमाण विद्युत् प्रयोग गरेको प्रमाण उपलब्ध गराए शुल्क तिर्न तयार भए पनि प्रयोग नगरिएको विद्युत्को शुल्क तिर्न नसकिने उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले प्राधिकरणले उद्योगी व्यवसायीमाथि अत्याचार गरेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले सरकारले उद्योगी व्यवसायीलाई किन धरासायी बनाउन खोजेको भन्दै प्रश्न गरे ।
नेपाल विद्युत् प्राधिकरण, भैरहवा वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले केही उद्योगहरूको लाइन काटिएको र लाइन जोड्न उद्योगबाट निवेदन आएको बताए ।
उनले कार्यालयमा आएका ज्ञापन पत्रलाई तालुक कार्यालयमा पठाइएको र त्याहाँबाट आएको निर्णय उद्योगीलाई जानकारी गराइएको बताए ।
