
नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि १० वटै सिटको लागि उम्मेदवार तय गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १० सिटको लागि उम्मेदवार तय गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्दप्रसाद ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बाग्मतीमा जीतजंग बस्नेत (अन्य) र विष्णुदेवी पुडासैनी (महिला)लाई उम्मेदवार बनाउने भएको हो । गण्डकीमा किरणबाबु श्रेष्ठ (अन्य) र पदमबहादुर परियार (अपाङ्गता/अल्पसंख्यक) उम्मेदवार बन्ने भएका छन् ।
लुम्बिनीमा विष्णुकुमारी सापकोटा (महिला), कर्णालीमा कृष्णबहादुर रोकाया (अन्य) र सुदूरपश्चिममा बलदेव बोहरा (अन्य) र नारायणदत्त भट्ट (अपाङ्गता/अल्पसंख्यक)लाई उम्मेदवार बनाउने भएको हो ।
उम्मेदवार टुंग्याउन हिजो दिउँसैदेखि कांग्रेस बैठक बसेको थियो । तर, सहमति हुन बैठक नसक्दा मध्यरातिसम्म लम्बिएको थियो । मध्येराति बसेको कांग्रेस बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
राष्ट्रिय सभामा रिक्त हुन लागेका २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते मतदान हुँदैछ । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) उम्मेदवारी दर्ता हुँदै छ । सातै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।
