काठमाडौं, १८ असोज– पार्टी एकता गर्ने उद्देश्यसहित अगाडि बढेका एमाले र माओवादी केन्द्र आगामी निर्वाचनमा आआफ्नै चिह्न लिएर निर्वाचनमा सहभागी हुने भएका छन्। नयाँ शक्ति भने एमालेको सूर्य चिह्नबाटै निर्वाचनमा सहभागी हुनेछ। सूर्य चिह्नबाटै निर्वाचन लड्ने गरी सहमतिनजिक पुगे पनि माओवादी अध्यक्ष दाहाललाई पार्टीका नेताहरूले आफ्नै चिह्न प्रयोग गर्न र पहिचानको मुद्दा नछाड्न मंगलबार बिहानसम्म दबाब दिएका थिए। त्यसपछि दाहाल सूर्य चिह्नमै निर्वाचन लड्ने विषयमा पछि हटेका हुन् ।
सोमबार भएको दुई दलको बैठकमा भने एमालेको निर्वाचन चिह्नमै निर्वाचन लड्ने गरी सझदारी भएको थियो। माओवादीले सूर्य चिह्नभित्र हँसिया, हथौडा राख्न चाहे पनि निर्वाचन आयोगले मतपत्र छपाइको काम थालिकेको र प्राविधिक कारणले सम्भव नहुने देखिएको थियो ।
मंगलबार बिहान भने दाहाल पार्टी एकताअघिको निर्वाचनमा आआफ्नै चिह्नमा निर्वाचन लड्ने निर्णयमा पुगेका हुन्। अझै एकै चुनाव चिह्न प्रयोग गर्ने प्रयास जारी रहेको सहमतिपत्र घोषणासभामा एमाले अध्यक्ष ओलीले खुलाए। ‘बाबुरामजीले नेतृत्व गरेको पार्टी सूर्य चिह्नमै निर्वाचन लड्दै छ, अरू साथीहरू पनि यसमै लड्ने गरी सहमति खोज्ने हाम्रो प्रयास जारी छ’, ओलीले भने ।
सहमतिपत्रमा हस्ताक्षरअघि बिहान तीनै दलका शीर्ष नेताहरूबीच ललितपुर मानभवनमा छलफल भएको थियो । त्यही छलफलमा जुटेको सहमतिका आधारमा उनीहरूले साँझ हस्ताक्षर गरेका हुन् ।
अन्नपूर्ण पोस्टमा समाचार छ ।