
किभ– संयुक्त राष्ट्रसङ्घको हेलिकप्टरलाई सोमालियामा आपतकालीन अवतरण गराइएपछि अल–शबाब लडाकू समूहले नियन्त्रणमा लिएका बन्धकमध्ये चार जना युक्रेनी रहेको कीएभले शुक्रवार पुष्टि गरेको छ ।
युक्रेनको विदेश मन्त्रालयका प्रवक्ता ओलेह निकोलेन्कोले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘उक्त हेलिकप्टर युक्रेनी निजी कम्पनीको हो र संयुक्त राष्ट्रसङ्घले सामान ढुवानीका लागि सञ्चालन गरिरहेको थियो ।’
गाल्मुदुग राज्यको राजधानी धुसामारेबबाट करिब ७० किलोमिटर दक्षिणपूर्वमा रहेको सो हेलिकप्टरमा नौ जना सवार रहेको एएफपीलाई आन्तरिकरूपमा उपलब्ध संयुक्त राष्ट्रसङ्घको ज्ञापनपत्रमा उल्लेख छ । दुर्घटना स्थल इस्लामिक लडाकूहरूद्वारा नियन्त्रिणमा रहेको क्षेत्र हो ।
निकोलेन्कोले लेखेका छन्, ‘युक्रेनको विदेश मन्त्रालयले सोमालियाली भू–भागमा सरकार विरोधी फौजको नियन्त्रणमा रहेका चार जना युक्रेनी नागरिकलाई पक्राउ गरेको पुष्टि गरेको छ ।’
‘सोमालियास्थित संयुक्त राष्ट्रसङ्घीय मिसनको हेलिकप्टर चालक दलका सदस्य हाम्रा नागरिक थिए,’ उनले भने ।
विमानमा पाँच जना ‘विदेशी’ पनि रहेको उनले बताए ।
राष्ट्रसङ्घको विज्ञप्तिमा यात्रुलाई बन्दी बनाइएको, एक जनाको मृत्यु भएको र दुई जना भागेको उल्लेख गरिएको छ ।
अल–शबाबले १६ वर्षदेखि सङ्घीय सोमाली सरकारविरुद्ध लड्दै आएको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन प्राप्त छ । अमेरिकाले सन् २००८ देखि नै उनीहरूलाई आतङ्कवादी समूहको रूपमा मान्यता दिँदै आएको छ ।
मुख्य जनसङ्ख्या केन्द्रहरूबाट निष्कासित भएपनि तिनीहरू केन्द्र र देशको दक्षिणको विशाल ग्रामीण क्षेत्रहरूमा भूमिगत रूपमा बसी राजनीतिक र हिंसात्मक गतिविधि सञ्चालन गर्छन् ।