१५ असार २०८३, सोमबार

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताः कर्णालीले गण्डकीलाई ७ विकेटले हरायो

पुस २९, २०८०
बुटवल
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताः कर्णालीले गण्डकीलाई ७ विकेटले हरायो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । 

रूपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा आइतबार भएको खेलमा जीतका लागि गण्डकीले दिएको १२३ रनको लक्ष्य कर्णालीले ३३ दशमलव २ ओभरमा ३ विकेटको नोक्सानीमा भेट्टायो ।

कर्णालीको जीतमा हिमान्सु शाहीले ७१ बलमा ५३ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले ५ चौका र २ छक्का प्रहार गरे । 

यस्तै, निश्चल रावलले अविजित २९, रवीन्द्र शाहीले २० र अर्जुन घर्तीले नटआउट १० रनको योगदान दिए । बलिङमा गण्डकीका अंकित न्यौपानेले २ तथा ९ ओभर बलिङ गरेका विपिन खत्रीले ७ मेडन राख्दै २ रन खर्चेर १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रनको सामान्य योगफल बनाएको थियो । गण्डकीका लागि अमृत गुरुङ र कमल परियारले समान २१ रनको सर्वाधिक योगफल बनाए । 

अगाडिका पाँच ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा छैटौं नम्बरमा आएका ब्याट्सम्यान अश्वानी रानाले १६ र कप्तान विपिन खत्रीले १० रन मात्रै जोड्न सके । चन्द्र पौडेल १४ र अंकित न्यौपाने २ रनमा अविजित रहे ।

कर्णालीका लागि अनुज चुनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले समान दुई–दुई विकेट लिए । यस्तै, प्रकाश जैशी, दिवान पुन र रवीन्द्र रावतले एक–एक विकेट लिए । गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ । उसले शनिबार लुम्बिनी प्रदेशसँग ४ विकेटको हार भोगेको थियो । 

प्रधानमन्त्री कपका लागि पहिलोपटक काठमाडौंबाहिर भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा ११ वटा खेल हुँदै छन् । सोमबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्