
काठमाडौं, १८ भदौ – चलचित्र ‘छक्का पञ्जा २’ ले एक सातामा काठमाडौं र मोफसल गरी ८ करोड भन्दा बढीको ग्रस कलेक्सन गरेको छ । असोज ११ गते रिलिज भएको चलचित्रले काठमाडौंबाट ४ करोड १८ लाखको व्यापार गरेको वितरक गोपाल कायस्थले जनाए ।
चलचित्रले मोफसलबाट हिजो (मंगलबार) ५० लाखको ग्रस कलेक्सन गरेको मोफसल वितरकको जिम्मा पाएका नरेन्द्र महर्जनले बताए । मोफसलबाट चलचित्रले सात दिनमा ३ करोड ८३ लाखको ग्रस कलेक्सन गरेको उनले बताए । काठमाडौंबाट चलचित्रले हिजोमात्र ५२ लाखको व्यापार गरेको थियो ।
दीपा श्री निरौला अभिनित चलचित्र ‘छक्का पञ्जा २’ ले आक्रामक व्यापार गर्दै आइरहेको छ भने चलचित्रलाई लिएर विभिन्न टिप्पणी पनि बाहिर आएका छन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल, वर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ ।