
मेलम्चीको पानी आजदेखि पुन: काठमाडौं उपत्यकामा वितरण शुरू गरिएको छ । मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण ७ महिनाअघि बन्द मेलम्चीको पानी आजदेखि पुन: वितरण शुरू गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी पुनर्वितरणको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रले आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई आयोजनाको पुनर्निर्माणको कार्य कार्यान्वयन गरिने बताए । हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्नेगरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएको जानकारी दिए ।

खानेपानी मन्त्रालयका अनुसार आज मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण गरिने छ । क्रमिक रूपमा खुमलटार, बालाजुलगायत क्षेत्रका खानेपानी भण्डारण केन्द्रमा पानी भरेर वितरण गरिने मन्त्रालयले जनाएको छ ।
आयोजनाको मुहान स्थलबाट पुस २५ गते नै हेडवर्क्समा पानी पथान्तरण गरिएको थियो । पानी सुन्दरीजल आइसकेको छ । सुन्दरीजल प्रशोधन केन्द्रबाट काठमाडौंमा रहेका विभिन्न भण्डार केन्द्रका लागि पानी छोडिनेछ।

२८ दिनभित्र काठमाडौं उपत्यकामा पानी वितरण गर्ने गरी मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोबिच पुस ३ गते राति समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
आयोजना निर्माण शुरू भएको २२ वर्षपछि २०७७ साल चैतमा पहिलो पटक काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरू गरिए पनि बाढीपहिरोका कारण पटक पटक बन्द हुँदै आएको छ ।
अहिले पनि अस्थायी रूपमा नै मेलम्चीको पानी वितरण गर्न लागिएको हो।