
करिब ४८ वर्षदेखि लालपुर्जाविहीन भएका काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई ओटा वडाका करिब एक हजार दुई सय परिवारको समस्या सुल्झाउन जिल्लास्तरमा कार्यदल गठन गरिएको छ ।
कैयौंपटक सरकारीस्तरबाट ‘फिल्ड भिजिट र अनुगमन–निरीक्षण’ गर्दा पनि कुनै विकल्प ननिस्किएपछि जिल्लास्तरमा समस्या समाधानको उपाय खोज्न कार्यदल गठन गरिएको जनाइएको छ ।
जिल्लास्थित मालपोत कार्यालय, नापी कार्यालय, भुम्लु गाउँपालिका अध्यक्ष, तथा सम्बन्धित वडाका वडाअध्यक्षबीच भएको पटक–पटकको छलफलले जिल्लास्तरमा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
कार्यदलमा नापी कार्यालयका कर्मचारी जयराम तामाङलाई टोली प्रमुख बनाई नापी, मालपोत, सम्बन्धित वडाका प्रतिनिधि सम्मिलित नौ सदस्य छनोट गरिएको छ ।
कार्यदललाई २१ दिनभित्र लालपुर्जाबारे हालसम्म भए–गरेका कार्यको अध्ययन गरी रायसहितको प्रतिवेदन नापी कार्यालयमा पेस गर्न खटाइएको प्रमुख नापी अधिकृत सुदर्शनसिंह धामीले बताए ।
धामीका अनुसार कार्यदलको प्रतिवेदनअनुसार पुनः सराकारवालाको छलफलबाट भुम्लुको दुई वडाको लालपुर्जा समस्या समाधानार्थ विकल्प निस्कने अपेक्षा गरिएको छ ।
साविकको पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा ‘टार’ भन्ने स्थानको खेतीयोग्य जमिन परेपछि त्यो जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका तत्कालीन नेतृत्वको विवादका कारण तत्कालीन नापी टोली फर्किएको थियो ।
त्यसयता मालपोत र नापी कार्यालयद्वारा भएका पटक–पटकका प्रयासले पनि ४८ वर्षसम्म लालपुर्जा दिलाउन सकेको छैन ।
'विसं २०३५ मा दोस्रोपटक आएको नापी टोलीसँग स्थानीयवासीसँग झगडा भएपछि धेरै समय यसप्रति चासो दिइएन र केही वर्षयताका प्रयास पनि सफल हुन सकेनन्', भुम्लु गाउँपालिका–८ का वृद्ध चित्रबहादुर श्रेष्ठले भने ।