
लुम्बिनी विकास बैंक लिमिटेडले साहारा फूटबल एकेडेमीलाई विगतका वर्षहरूमा गरिरहेको सहयोगलाई निरन्तरता दिँदै आर्थिक सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत पोखरा– १७ दोबिल्लामा सञ्चालित एकेडेमीलाई २ लाख ४४ हजार ८ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।
बिहीवार एक कार्यक्रमबीच बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लबका अध्यक्ष केशवराज बराललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
सिग्देलले साहारा एकेडेमीमा आश्रित बाल–बालिकालाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । साहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएको भन्दै सञ्चालक सिग्देलले क्लबको प्रशंसासमेत गरे ।
लुम्बिनी विकास बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहारा क्लबका अध्यक्ष बरालले सहयोग रकम एकेडेमीमा आश्रित बालकको खाजा र खानाका लागि खर्च गरिने बताए ।
कार्यक्रममा बैंकका पोखरास्थित शाखाका प्रवन्धकहरू, क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ र पूर्वअध्यक्ष विक्रम थकालीलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।
एकेडेमीमा हाल १५ जिल्लाका ४५ कठिन एवं विपन्न परिस्थितिका बालक छन् । साहारा क्लब पोखराले उनीहरूको लालन–पालन, शिक्षासँगै फूटबल प्रशिक्षण दिँदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।
देशका सातवटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकका विभिन्न स्थानमा गरेर ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ ।
बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खातामा उच्चतम् ब्याज प्रदान गर्ने विशेष योजना कार्यान्वयनमा ल्याएको छ प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।