१० असार २०८३, बुधबार

गोदावरी भवन विवाद : शिलालेखमा नाम लेख्ने होडबाजीले दोहोर्‍याएर उद्घाटन

माघ ५, २०८०
धनगढी
गोदावरी भवन विवाद : शिलालेखमा नाम लेख्ने होडबाजीले दोहोर्‍याएर उद्घाटन

१४ चैत्र २०७८ मा कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन नगर प्रमुख हरिसिंह साउदले तामझामका साथ प्रशासनिक भवन उद्घाटन गरेका थिए । तर उद्घाटनको २ वर्षसम्म नगरपालिकाको काम भने भाडाकै भवनमा भइरह्यो । २०८० असारमा मात्रै नयाँ बनेको भवनमा कार्यालय सर्‍यो । 

नयाँ भवनबाट सेवा शुरू भएको ६ महिनापछि माघ  ०४ गते वर्तमान नगर प्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेपछि बहस चुलिएको छ । एउटै भवन दुईपटक उद्घाटन भएपछि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि र नेताहरूले चर्को विरोध प्रदर्शन गरेका छन् ।

उद्घाटन कार्यक्रम रोक्न उनीहरूले नगरपालिका घेराउ र मेयरविरुद्ध चर्को नाराबाजी गरे । विरोधका बीच नगर प्रमुख भट्टले भने प्रहरीको सहायतामा प्रशासनिक भवनको उद्घाटन गर्न सफल भए । 

किन भयो उद्घाटनपछि उद्घाटन ?
निवर्तमान मेयर साउदले भवन उद्घाटन गर्दा ६ राजनीतिक दलले चर्को विरोध गरेका थिए । निर्माण सम्पन्न नहुँदै उद्घाटन गरेको उनीहरूको आरोप थियो । त्यो समयमा पनि नगर प्रमुखले प्रहरी प्रशासनको सहायतामै उद्घाटन गरेका थिए ।

विरोधका बीच भवन प्राङ्गणमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरेरै उद्घाटन गरियो । सीमित व्यक्तिलाई मात्रै उद्घाटन स्थलमा प्रवेश दिइयो । बिहीबार पनि अहिलेका नगर प्रमुख भट्टले बल प्रयोग गरे । 

नेकपा एमालेले दोस्रोपटक उद्घाटन गर्न नहुने भन्दै विरोध जनाएर उद्घाटन स्थलमै नाराबाजी गर्‍यो ।

उद्घाटनका लागि तोकिएको समयअघि नै भवनको गेटमा पुगेका एमालेका नेता, कार्यकर्तालाई ठूलो संख्यामा परिचालन गरिएका प्रहरीले गेटमै रोके । विरोधकै बीच निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी भवन उद्घाटन गरियो । 

null

भवन उद्घाटनका क्रममा एमालेबाट निर्वाचित नगरका जनप्रतिनिधि भवन परिसरमै विरोध गर्दै नारा जुलुस गरिरहेका थिए भने एमालेका अन्य नेता/कार्यकर्ता गेट बाहिर नाराजुलुस गर्दै थिए । गेटमा ठूलो संख्यामा परिचालन गरिएको प्रहरीका कारण आयोजकलाई समेत भित्र प्रवेश गर्न हम्मेहम्मे पर्‍यो ।

गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट तत्कालीन मेयर साउदले शिलालेखमा आफ्नो नाम लेख्नकै लागि काम नसकिँदै भवन उद्घाटन गरेकाले प्रक्रिया पुर्‍याएर पुनः उद्घाटन गरिएको बताउँछन् ।

‘भवनको निर्माण कार्य सकेर ठेकेदार कम्पनीले एक साताअघि मात्रै नगरपालिकालाई भवन हस्तान्तरण गरेको छ । त्यतिखेरका मेयरले प्रक्रिया नै नपुर्‍याएर एकलौटी रूपमा काम सम्पन्न नहुँदै नामका लागि मात्र उद्घाटन गरे, त्यो सरासर गलत थियो । अहिले सबै प्रक्रिया पुर्‍याएर उद्घाटन गर्दा विरोध किन ? यो ठीक भएन । यदि काम सकिएको थियो भने दुई वर्षसम्म भाडाकै भवनबाट सेवा दिन आवश्यक थिएन,’ नगर प्रमुख भट्टले भने ।

जनप्रतिनिधि र कर्मचारी सबैको सल्लाहमा भवनको उद्घाटन गरिएको मेयर भट्ट दाबी गर्छन् । ‘हामीले सबै पक्षसँग छलफल गरेका छौं । नगर उपप्रमुख छलफलमा अनुपस्थित रहनुभयो । एमालेबाट निर्वाचित वडाध्यक्षहरूले एकपटक भएको भवन फेरि उद्घाटन नगरौँ भन्नुभयो। अरू सबैको सहमति थियो । प्रक्रिया नपुगेको हुनाले अहिले सबै काम सकेर हामीले उद्घाटन गरेका हौँ,’ मेयर भट्टले भने ।

मेयरले शिलालेखमा आफ्नो नाम लेख्नका लागि अनावश्यक रूपमा मेयरले फेरि उद्घाटनको नाटक गरेको नगर उप–प्रमुख शारदा देवी रोकायाको आरोप छ ।

null

‘भवन एकपटक उद्घाटन भइसकेको थियो, अहिले फेरि गर्नुपर्ने औचित्य थिएन । हामीले नामका लागि हैन जनताको कामका लागि खट्नु पर्ने हो । तर मेयरको भावना त्यस्तो देखिएन । नामका लागि उहाँले विरोधका बीच पनि फेरि उद्घाटन गर्नुभयो,’ उप–प्रमुख रोकायाले थपिन, ‘योभन्दा अगाडि उद्घाटन गर्दा पानी जडान र पर्खाल निर्माणबाहेक सबै काम सकिएको थियो । ठेकेदारको ढिलाइले गर्दा भवन सर्न समय लागेको हो। अहिले फेरि उद्घाटन गर्न जरुरी थिएन ।’

निवर्तमान मेयर हरिसिंह साउद पनि शिलालेखमा नाम लेखाउनकै लागि अहिलेका मेयरले भवन उद्घाटन गरेको दाबी गर्छन् ।

‘भइसकेको कामको फेरि उद्घाटन गर्नु किन जरुरी थियो ? वर्तमान मेयरले जनभावनाविपरीत काम गरे । मैले समयमै भवन हस्तान्तर गर्न निर्देशन दिँदा पनि नेपाली कांग्रेसका नेता समेत रहेका ठेकेदार भीम साउदले अल्झाउने काम गरे । काम सकिँदा पनि साना काममा समय लगाए । तर पनि मैले भाडाको भवनमा धेरै नबस्ने भनेर कार्यालय भवनको उद्घाटन गरेको थिएँ । अहिले फेरि उद्घाटन हुनु दुःखद् विषय हो,’ साउदले भने ।

पहिलोपटक भवन उद्घाटन गर्दै मेयर साउदले भवनको प्रवेशद्वारको दाहिनेपट्टि आफ्नो नामको शिलालेख राख्न लगाएका थिए भने देब्रेपट्टि २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको नाम राखेका थिए ।

अहिलेका मेयर भट्टले तत्कालीन मेयर साउदले भवनको दाहिनेपट्टि राखेको उद्घाटनको शिलालेख हटाएर आफ्नो नामको शिलालेख र सँगै जनप्रतिनिधिको नाम लेखाएका छन् ।

भवन निर्माणको काम एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा क्षेत्रीय शहरी विकास कार्यालय धनगढीले गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्