
झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कनकाई नदी किनारमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा वनभोज खाने तथा घुमफिर गर्ने आन्तरिक र बाह्य पर्यटकको दैनिक लर्को लाग्न थालेको छ ।
कोशी प्रदेशकै प्रमुखमध्येको पर्यटकीय गन्तव्यका रुपमा रहेको दोमुखामा जाने सडक कालोपत्र भएसँगै पर्यटकको थप आकर्षण बढेको हो ।
दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर लावतीका अनुसार सडक, खानेपानीलगायतका सुविधाका कारण विगत वर्षमा भन्दा यस वर्ष पर्यटक आगमन बढी भइरहेको छ ।
कात्तिक पहिलो हप्तादेखि शुरू भएको पर्यटकको चलपहल हाल खचाखच हुने गरेको उनले बताए । उनका अनुसार वनभोज खानेको टोली दैनिक २० देखि ३० वटासम्म दोमुखामा आउने गरेका छन् । ‘बिदा र शनिवारका दिन पिकनिक स्पटदेखि खोला किनार सबै भरिन्छन्’, उनले भने, ‘यसबाट आउने शुल्कसमेत राम्रै सङ्कलन हुने गरेको छ ।’
पूर्वपश्चिम राजमार्गको माइधार चोकदेखि चुरे क्षेत्रसँग जोडिएको दोमुखासम्मको दुई किलो नौ सय मिटर सडक कालोपत्र भएको छ ।
यसका कारण यस स्थानमा आउने पर्यटकलाई सहज भएको उनको भनाइ छ । दोमुखा क्षेत्रमा अवलोकन गर्न र वनभोज खानका लागि इलाम, मोरङ, सुनसरी, छिमेकी मुलुक भारतको दार्जीलिङ, मिरिक, सिलगुढीलगायतका स्थानबाट पर्यटक आउने गरेका छन् ।
वनभोज खान आउनेबाट रू पाँच सयदेखि तीन हजारसम्म शुल्क लिने गरेको उनले बताए । दोमुखा पर्यटकीय क्षेत्रमा बालउद्यान र बहुजातीय सङ्ग्रहालय, स्वीमिङपुल, झोलुङ्गे पुल रहेको उनले जानकारी दिए ।
अध्यक्ष लावतीले चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा दर्जनौं नेपाली चलचित्र तथा म्युजिक भिडियोसमेत छायाङ्कन हुने गरेको बताए । उनका अनुसार शिवसताक्षी नगरपालिकाका सबैभन्दा धेरै सुविधासम्पन्न होटल पनि यही क्षेत्रमा रहेकाले पर्यटकलाई पनि सहज भएको छ ।