२२ जेठ २०८३, शुक्रबार
खानपान

तिब्बती ग्याकक : जाडोका लागि उपयोगी, समूहमा मिलेर खाँदा महङ्गो नपर्ने​​

माघ ६, २०८०
काठमाडौं
तिब्बती ग्याकक : जाडोका लागि उपयोगी, समूहमा मिलेर खाँदा महङ्गो नपर्ने​​

ग्याकक नेपालका लागि नौलो परिकार भएता पनि यो अन्य एसियाली देशमा निकै लोकप्रिय परिकार हो । जाडो मौसममा यो परिकार धेरैले मन पराइने हुनाले पछिल्लो समय धेरै होटल र रेष्टुरेण्टले आफ्नो मेनूमा समावेश गर्न थालेका छन् । ग्याकक  तिब्बतको एक मौलिक परिकार हो । यो परिकार परिवार र साथीभाइका साथमा मिलेर खान सकिन्छ ।

झट्ट हेर्दा ग्याकक थुक्पाजस्तै लाग्छ । यद्यपि, यो थुक्पाभन्दा निकै परिमार्जित र महङ्गो खाना मानिन्छ । यो परिकार तिब्बतबाट विस्तारै चीन, कोरिया र थाइल्यान्डहुँदै नेपाल भित्रिएको हो । पाहुनाको टेबलमा ताजा र तात्तातो पस्किने हुँदा पनि यो परिकार लोकप्रिय हुँदै गएको हो । ग्याकक मासु र सब्जी दुवैको बन्छ । यसर्थ यो मांसाहारी, शाकाहारी र शुद्ध शाकाहारी सबैका लागि उत्तिकै रोजाइ बन्दै गएको छ ।​

ग्याकक चिसो मौसममा शरीरलाई न्यानो राख्न उपयोगी साबित भएको छ । ताजा मासु या सब्जी मिसाएर स्टकमा उमालिने हुँदा यो मःम, चाउमीन र थुक्पाभन्दा पनि स्वादिलो हुन्छ । यसमा पिरो र अमिलो मिसाएर थप स्वादिलो बनाउन सकिन्छ । 

एउटा ग्याकक अर्डर गरेर धेरैले बाँडेर खान मिल्छ । यसरी समूहमा मिलेर खाँदा धेरै महङ्गो पनि पर्दैन । यसमा राइस या नुड्ल्स कुनै पनि मिक्स गर्न मिल्छ । रोजाइ भने तपाईंको हो । योसँगै चिया, मःम, प्राउन, मिटबल, पोर्क, चाइनिज साग, च्याउ, तोफू, फिस, किम्ची सलाद र गार्लिक कुकम्बर सलाद राखेर पस्कने गरिन्छ । तामाको भाडोमा तलतिर आगो बालेर बनाउने यो खाना ‘टिबेटिन हट पट’ भनेर पनि प्रख्यात छ ।

कसरी बनाउने ? 

सामग्री :  पोर्क बेली– २५० ग्राम, टिमुरको धुलो– एक चम्चा, स्लाइस अदुवा– १० ग्राम, हरियो प्याज–२ पिस, कुकिङ वाइन– २ चिया चम्चा, अन्डा–२ पिस र मैदा– ३ चम्चा ।

यस्तै मकैको पिठो– ३ चम्चा, मिट बल– ३०० ग्राम, नुन र मरिच–स्वाद अनुसार, ब्रोथ– एक लिटर, तोफू, पाकचोय, च्याउ, किम्ची, राइस या नुड्ल्स आदि साइडमा सर्भ गर्ने । 

विधि

हटपट भाडोमा स्टक हालेर उमाल्ने र अन्य मसला हाल्दै जाने । दिएका अन्य सामग्री थप्दै आफ्नो इक्छाअनुसार हाल्ने । अनि उमाल्ने र राइस या नुडल्ससँग खान सकिन्छ । 

आफूलाई इक्छा लागे कुनै पनि मासु र सागपात या अन्य सब्जी पनि मिसाउन सकिन्छ । यदि अमिलो मन पर्छ भने थप गरेर पनि पस्कन सकिन्छ । 

झोल धेरै पातलो हुने हुँदा मकैको पिठो (कर्न स्टाच) या मैदा घोलेर उम्लेको भाडोमा हाल्ने । उसिनेको अन्डालाई आधा काटेर राख्दा झनै उत्तम हुन्छ । वाइन भने पस्कने समयमा मात्र मिसाउँदा स्वादका लागि उत्तम मानिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्