
दक्षिण अफ्रिाकामा जारी आईसीसी यू–१९ क्रिकेट विश्वकप प्रतियोगितामा अफगानिस्तानमाथि पाकिस्तानले फराकिलो जीत हासिल गरेको छ ।
शनिवार भएको समूह ‘डी’को खेलमा पाकिस्तानले अफगानिस्तानमाथि १८१ रनको फराकिलो अन्तरले हराएको हो ।
नेपाल सम्मिलित समूह ‘डी’को पहिलो खेलमा २८५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २६.२ ओभरमा १०३ रनमा अल आउट भएको थियो । नौमान शाह २६, शोहेल खान र रहिमुल्लाह जुरमाती समान समान २० रन बनाए पनि अन्य ब्याटर चल्न नसकेपछि अफगानिस्तान लक्ष्यमा पुग्न सकेन ।
पाकिस्तानका तीव्र गतिका बलर उबेद शाहले ४ विकेट लिए । उनले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चिए । यस्तै मोहम्मद जिशानले ३ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले सहजाइब खानको शतकको मद्दतमा ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो ।
ओपनर सहजाइबले शतकीय पारी खेल्दै १०६ रन बनाएका थिए । उनले १२६ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गरे ।
यस्तै मासाद बेगले अर्धशतक पारी खेल्दै ५० रन बनाए । उनले ५२ बलमा ३ चौका ४ छक्का प्रहार गरे । यसैगरी रियाज उल्लाहले ४६, उबेद शाहले २२ रन बनाए ।
अफगानिस्तानका खालिद अहमदले ४ विकेट लिए पनि त्यो टोलीको जीतका लागि पर्याप्त भएन ।
शनिवार नै भएको अर्को खेलमा इग्ल्यान्डले स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो । यो समूह ‘बी’को खेल थियो ।
नेपाल भने समूह ‘डी’मा छ । जहाँ पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड सम्मिलित छन् ।