
दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ क्रिकेट विश्वकप–२०२४ को पहिलो खेलमा नेपालले न्युजिल्यान्डविरुद्ध पहिले फिल्डिङ गरिरहेको छ ।
टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो ।
बफेलो पार्क इस्ट लन्डनमा न्युजिल्यान्डका कप्तान ओस्कार ज्याक्सनले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपाल फिल्डिङमा उत्रिएको हो ।
खेल आज दिउँसो १ः४५ मा शुरू भएको हो ।
समूह ‘डी’बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई महत्वपूर्ण हुनेछ । याे समूहको पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई फराकिलो अन्तरले हराएको थियो । पाकिस्तान अंक तालिकाको शीर्ष स्थानमा छ ।
नेपालको कप्तानी देव खनालले गरिरहेका छन् ।
यू–१९ विश्वकपमा यसअघि नेपालले दुई पटक न्युजिल्यान्डको सामना गरेको छ । दुवै खेलमा नेपालले जीत हासिल गरेको थियो । सन् २००६ मा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई एक विकेटले पराजित गरेको थियो भने २०१६ मा भएको खेलमा नेपालले ३२ रनले हराएको थियो ।
नेपाली टोलीमा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपीन रावल, तिलकराज भण्डारी, दीपक बोहोरा र आकाश चन्द रहेका छन् ।