
सुन्तलाको पकेट क्षेत्र मानिएको जाजरकोटमा चालू आर्थिक वर्षमा सुन्तला उत्पादन वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७९/८० को भन्दा चालू आवमा २२ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण, परियोजना कार्यान्वयन इकाइ कार्यालय जाजरकोटले जनाएको छ ।
छ सय २५ हेक्टरमा सुन्तलाखेती हुँदै आएको कार्यालयका प्रमुख दीपेन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष प्रतिहेक्टरमा १०.७ मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष १३.१ मेट्रिक टन उत्पादन भएको छ ।
जिल्लाभरी यस आवमा आठ हजार एक सय २० मेट्रिक टन सुन्तला उत्पादन भएको जनाउँदै उक्त सुन्तलाको मूल्य रू ३२ करोड ४८ लाख बराबरको रहेको पोखरेलले बताए । करिब रू २७ करोडको सुन्तला बजारमा बिक्री भएको तथ्याङ्क परियोजना कार्यान्वयन इकाइ कार्यालयमा आएको उनले जानकारी दिए ।
अघिल्लो आवभन्दा यस आवमा १५ हेक्टर बढी क्षेत्रफलमा सुन्तलाखेती गरिएको जनाइएको छ । तीन हजार दुई सय मेट्रिक टन बाहिर जिल्ला निर्यात भएको इकाइले कार्यालयले जनाएको छ । प्रतिकेजी रू ८० सम्ममा बिक्री हुने गरेको छ । जिल्लामा चार पालिकामा सुन्तला जोन लागू भएको थियो ।
कुशे गाउँपालिकाको वडा नं १ देखि ९ सम्म, भेरी नगरपालिकाको वडा नं १ देखि १० सम्म, नलगाड नगरपालिकाको वडा नं १ देखि ६ सम्म र छेडागाड नगरपालिकाको वडा नं १०, ११ र १२ लाई सुन्तला जोनका रुपमा छुट्याइएको परियोजनाका प्रमुख पोखरेलले जानकारी दिए ।
आव २०७४/७५ मा लागू भएको यो कार्यक्रमबाट यहाँका किसानले लाभ लिँदै आएका छन् । उनका अनुसार २१ समूह, ११ सहकारी, एक सय ३१ निजी क्षेत्र इकाइ कार्यालयमा सूचीकृत भएर काम गरिरहेका छन् । बर्सेनि सुन्तलाखेती हुने जमिनको मात्रा बढ्दै जाँदा उत्पादनमा पनि वृद्धि हुँदै गएको पोखरेलको भनाइ थियो ।
किसानको खेतबारीमा गएर प्राविधिकद्वारा विभिन्न तालिम, खेतीबारे जानकारी, आवश्यक उपकरणका साथै समयसमयमा गरिने छलफलले किसानलाई सुन्तला खेतीमा थप प्रोत्साहन मिलेको किसान शक्तिबहादुर ओलीले बताए । यसरी गरिएको छलफल प्रभावकारी बन्दै गएको उनको भनाइ थियो ।
अधिकांश सुन्तला बगैँचा रहेका स्थानसम्म सडक विस्तार भएकाले पनि किसानलाई बिक्री वितरणमा सहजता भएको ओलीले बताए । परियोजनाले ढुवानीका सवारीसाधन खरिदमा अनुदान दिएकाले किसानलाई थप फाइदा भएको उनले जनाए ।