
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ ।
सहकारी ठगी प्रकरणमा प्रस्टीकरण दिन सोमबार पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा लामिछाने र शाहले चेकमा पर्याप्त ब्यालेन्स नभए पनि खातामा रकम क्रेडिट तथा डेबिट भएको दाबी गरेका हुन् ।
सबैभन्दा गम्भीर कुरा त पूर्व बैंकर शाहले बोलेका छन् । उनले भनेका छन्–
बैंकिङ प्रणालीमा के छ भने मेरो खातामा कोही डिपोजिट गर्न आयो भने भौचर भर्नुपर्छ । क्यास हो भने एउटा अमाउन्टभन्दा माथि भए केही प्रश्न सोधिन्छ,चेक हो भने सोधिन्न । टेलरले चेक हेर्छ।अनिल साह भन्ने नाम हेर्छ।ठीक छ भने अमाउन्टको नम्बर राख्छ । स्लिपमा स्ट्याम्प हान्छ अनि एक कपी(ग्राहकलाई)दिन्छ । यति गर्नेबित्तिकै मेरो खातामा अमाउन्ट भनेर आउँछ, तर अभाइलेबल ब्यालेन्स हुँदैन । त्यो अमाउन्ट ब्यालेन्समा क्रेडिट भनेर आउँछ । मैले निकाल्न पाउँदिनँ, मलाई थाहा पनि हुँदैन,तर कसैले डिपोजिट गरेको छ भन्ने रेकर्ड त हुनुपर्यो नि । त्यसपछि चेक सिस्टमबाट सम्बन्धित बैंकमा जान्छ । त्यहाँ सिग्नेचर मिलेको छ कि छैन,डेट मिलेको छ कि छैन, सबै मिलेको छ भने त्यो खातामा डेबिट गरेर मेरो खातामा क्रेडिट हुन्छ ।'
उनले थपे, 'एक करोड ८० लाखको चेक डिपोजिट नभएको भन्दैनौं, भएको छ। तर, घन्टी बजेन । सभापतिज्यूले पैसा पाउनुभएन ।'
तर, क्लियरिङसम्बन्धी डिपार्टमा समेत काम गरिसकेका राष्ट्र बैंकका एक कर्मचारी भने यतिको भरमा मात्र शाहले दाबी गरेजस्तो खातामा रकम क्रेडिट नहुने दाबी गर्छन् । चेकमा पैसा भएको र सबै विवरण मिलेको सिस्टमबाट पुष्टि भइसकेपछि शुरूमा चेकवालाको खातामा डेबिट भएर बल्ल डिपोजिटवाला ग्राहकको खातामा क्रेडिट हुने उनले बताए ।
पत्रकार सम्मेलनमा रविले पनि आफ्नो खातामा रकम जम्मा नभएको दाबी गरे ।
'खातामा आउँछ त, घण्टी बज्छ त, घण्टी बजाउनेले त्यति पनि थाहा पाउँदैन भन्नुभएको छ । घण्टी बजेकै छैन, बैंकले भनिसक्यो । जम्मा नभएको कुरा त मैले कसरी थाहा पाउँछु ? बैंकमा चेक प्रिजेन्ट भयो । प्रिजेन्ट भएपछि बैंकमा अगाडि बस्नुहुन्छ, जसलाई टेलर भन्छौं हामी, उहाँले चेक जम्मा भएको रसिद त दिनुभयो । त्यो रसिद कम्पनी रजिस्ट्रारको कार्यालयमा पुग्यो । तर, पैसा आयो त ? छैन, गयो । (मेरो खातामा) एक करोड ८० लाख जम्मा नभएको म स्पष्ट पार्न चाहन्छु ।'
डिपोजिट स्लिपसम्मको हकमा लामिछानेले गरेको दाबी स्वाभाविकै देखिए पनि बैंक स्टेटमेन्टमै रकम डेबिट र क्रेडिट भएको भन्ने विषय गम्भीर देखिन्छ ।
'चेक क्लियरिङका लागि आयो भने टेलरमा डिपोजिटवालाको खाता विवरण चेक हुने हो, न कि चेकवालाको । डिपोजिट गर्ने मान्छेको विवरण ठीक छ भने चेक रिसिभ गरेर हामीले ग्राहकलाई स्लिप दिएर पठाउँछौं,' एक वाणिज्य बैंकमा क्लियरिङ शाखामै काम गर्ने एक कर्मचारीले लोकान्तरसँग भने, 'त्यसपछि जबसम्म सिस्टमबाट चेकवालाको खातामा पर्याप्त पैसा छ, सबै विवरण मिलेको छ भन्ने एप्रुभ हुँदैन तबसम्म डिपोजिटवालाको खातामा हिट नै हुन्न, स्टेटमेन्टमा देखिने त परको कुरा भयो । यदि चेक सबै ठीक छ भने चेकवालाको खाताबाट रकम डेबिट भएर बल्ल डिपोजिटवालाकोमा क्रेडिट हुन्छ । यतिबेला मात्र स्टेटमेन्टमा देखिने हो ।'
यसरी क्रेडिट भइसकेको रकम खातावालको स्वीकृतिविना डेबिट गर्नै नमिल्ने राष्ट्र बैंकका एक कर्मचारीले बताए ।
'एक रुपैयाँ मात्र डेबिट गर्न पनि खातावालाको लिखित स्वीकृति चाहिन्छ, करोड त ठूलो विषय भयो,' ती कर्मचारीले भने ।
नेपाल क्लियरिङ हाउस लिमिटेडका सीईओ नीलेशमान सिंह प्रधानले चेक क्लियरिङको प्रक्रिया नै लोकान्तरलाई बताए ।
'एक्स नामको बैंकको चेक वाई नामको बैंकको खातामा क्लियरिङका लागि आयो भने वाई बैंकले त्यस चेकलाई स्क्यान गरेर (एनसीएचएलको) सिस्टममा हाल्छ, फिजिकल चेक वाई बैंकमै बस्छ । चेकको बारेमा भएको डिटेल– खाता नम्बर, नाम, मिति भरेर सिस्टम हुँदै एक्स बैंकमा जान्छ । एक्स बैंकको पनि जुन डिपार्टलाई चेक भेरिफाइ गर्ने अथोरिटी हुन्छ, त्यसले चेकको इन्फर्मेसन मिले/नमिलेको हेर्छ । खातामा पैसा रहे/नरहेको तथा सही मिले नमिलेको पनि यकिन गर्छ । खातामा पैसा रहेछ भने एक्स बैंकका चेकवालाको खाताबाट पैसा डेबिट हुन्छ र यो कारोबार सफल हुन्छ भनेर वाई बैंकलाई सूचित गरिन्छ । चेकमा पैसा रहेन छ भने उतिखेरै फर्काइन्छ,' प्रधानले लोकान्तरसँग भने ।
उनको भनाइलाई हेर्ने हो भने पनि खातामा पर्याप्त पैसा भएको यकिन भएपछि मात्र डेबिट र क्रेडिटको प्रक्रियामा जान्छ र स्टेटमेन्टमा देखिन्छ ।
लामिछाने र शाहले भने चेकवालाको खातामा पर्याप्त पैसा नभई डेबिड/क्रेडिट भएको दाबी गरेका छन् ।
ग्यालेक्सी टीभीमा रविको नामबाट शेयर खरिदका लागि रकम जम्मा भएको र रविले टेलिभिजन छाडेपछि उनको खातामा शेयर बिक्रीको रकम जम्मा भएको विवरण सार्वजनिक भएपछि रविले सोमबार पत्रकार सम्मेलन गरेका हुन् ।