११ असार २०८३, बिहीबार

गतिलो सडक नहुँदा सुन्तला ढुवानी गर्न कठिनाइ

माघ १३, २०८०
पर्वत
गतिलो सडक नहुँदा सुन्तला ढुवानी गर्न कठिनाइ

गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ । यहाँ एउटै गाउँमा लाखौँ रुपैँयाको सुन्तला उत्पादन भए पनि बजारमा पुर्‍याउन सकिएको छैन । 

बाँसखर्क जोड्ने वारीबेनी–बगर–बाँसखर्क सडक स्तरोन्नति हुन नसक्दा गाउँसम्म सवारीसाधन पुग्न समस्या भएको छ । ठूला सवारी साधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानी गर्न समस्या भएको स्थानीय जगतबहादुर खत्रीले जानकारी दिए । 

उनले भने, 'जीपमा थोरै सुन्तला टिपेर बेनी–मालढुङ्गा सडकसम्म झार्ने र ठूलो ट्रकमा राखेर लैजानुपर्ने बाध्यता छ । यसले ढुवानी लागत र समय बढी लाग्ने गरेको छ ।' 

अहिले बाँसखर्कसम्म पुग्न वारीबेनी र मिलनचोकबाट कच्ची सडकको सुविधा छ । तर जीर्ण सडकका कारण ठुला ट्रक र टिपर गाउँसम्म पुग्न सक्दैनन् । जीप मुस्किलले गाउँसम्म पुग्ने कृषक खत्रीले गुनासो गरे ।

ठूला ट्रक तथा कन्टेनरबाट एकैपटक ढुवानी गर्न पाए सहज हुने सुन्तला खरिद गर्न बगानमा आएका कालीमाटीका एक व्यवसायीले बताए । दश किलोमिटरको दूरी पार गर्न झण्डै डेढ घण्टा लाग्ने गरेको उनको भनाइ छ । 

जलजला गाउँपालिका–२ वारीबेनीदेखि वडा नं १ बाँसखर्क जोड्ने सडक कालोपत्र गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भइसकेको छ । तर बजेट विनियोजन नहुँदा स्तरोन्नति हुन सकेको छैन । दश  किलोमिटर लामो उक्त सडकमा २२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

बर्सेनि सुन्तला ढुवानी गर्न समस्या हुने गरेको स्थानीयको गुनासो छ । सडक निर्माण भएमा यहाँ उत्पादन हुने सुन्तला बजार पठाउन तथा बाँसखर्कमा सञ्चालित होमस्टे प्रवद्र्धन गर्न सकिने छ । 

पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले चालु आवमा बाँसखर्क जोड्ने कुनै पनि सडकका लागि बजेट विनियोजन नभएको बताए । 

मिलनचोक–माझफाँट–बाँसखर्क सडकका लागि एक करोड विनियोजन भए पनि त्यसले जम्मा एक किलोमिटर मात्र कालोपत्र गर्न सकिने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्